धनकुटाः धनकुटाको राजारानीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७ सय बिरामी लाभान्वित भएका छन् । नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा केयर वुमन नेपालले शिविर आयोजना गरेको हो ।
शिविरबाट ६ सय ९७ बिरामीले निःशुल्क उपचार सेवा लिएको आयोजक केयर वुमन नेपालकी अध्यक्ष इन्दिरा थापाले जनाइन् । महिलाको आङ खस्ने समस्या, छाला, दम, आँखा र हाडजोर्नीका बिरामी बढी पाइएको थापाले बताइन् ।
शिविरमा १ सय १५ जनाको भिडियो एक्सरे, १ सय ३३ जनाको ईसीजी र १ सय ७५ जनाको ल्याब टेष्ट गरिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । शल्यक्रिया गर्नुपर्ने अवस्थाका आङ खसेका १७ महिला, गाँठागुँठी पलाएका १५ जना र मोतियाबिन्दुका ७ जना बिरामीको नोबेलले निःशुल्क शल्यक्रिया गर्ने आयोजकले जनाएको छ ।