धरानः व्यक्तिगत प्रतिशोधका कारण विद्यार्थीहरूलाई प्रयोगात्मक विषयमा फेल गराएको भन्दै केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा स्ववियुले ताला लगाएको छ ।

लिखित परीक्षामा राम्रो अङ्क ल्याए पनि प्रयोगात्मक परीक्षामा प्रतिप्रश्न गरेकै आधारमा ५ जना विद्यार्थीलाई फेल गराएको भन्दै भौतिकशास्त्र विभागका प्रमुख चण्डेश्वर साहको कार्यकक्षमा ताला लगाइएको हो ।

स्ववियुले भौतिकशास्त्र विभागका प्रमुख परिवर्तन गर्नुपर्ने र पीडित विद्यार्थीको परीक्षा पुनः लिनुपर्ने लगायतको माग राखेको छ । 

स्ववियु अध्यक्ष सौरभ सञ्जेलले भने, ‘कक्षामा पढाउँदा पनि राम्रो व्यवहार गर्नुहुँदैन । प्रश्न सोध्दा पनि रिसाउने बानी उहाँको छ त्यसैले विभाग प्रमुखको परिवर्तनको माग राखेका छौँ ।’