विराटनगरः ‘स्वास्थ्य र समृद्धिका लागि आरोग्यता र आरोग्यताको लागि योगअभ्यास’ नाराका साथ विराटनगरमा प्रदेशस्तरीय बृहत् योग शिविर हुने भएको छ ।
प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले योगलाई आमजनतामाझ पु¥याउने दायित्वअन्तर्गत यही माघ १३ देखि १९ गतेसम्म साताव्यापी निःशुल्क योग शिविरको आयोजना गर्ने भएको हो । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे योगलाई जीवनको अभिन्न अङ्ग बनाउन र स्वास्थ्य जीवनको चेतना तथा जागरण जनतामाझ गराउन शिविर सञ्चालन गर्न लागिएको बताउँछन् ।
प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने सो शिविरमा ५ हजार महिला तथा पुरुषको सहभागिता हुने अनुमान गरिएको बताइएको छ । शिविरमा प्रत्येक दिन प्रदेशका मन्त्रीको उपस्थिति हुनुका साथै पतञ्जली योग नेपालका अध्यक्ष लवदेव मिश्र र जगतगुरु कृष्णदासजी महाराजले योग प्रशिक्षण दिने बताइएको छ ।