दुहबीः सुनसरीको दुहबी नगरपालिकाले बालबालिकाहरूलाई स्वीटर वितरण गरेको छ ।
दुहबी नगरमा रहेका बाल विकास केन्द्रका बालबालिकालाई नगरका मेयर तथा विपत व्यवस्थापन समितिका संयोजक वेदनारायण गच्छदारले १ हजार थान स्वीटर वितरण गरेका हुन् ।
जाडो यामलाई मध्यनजर गरी बालबालिकालाई जाडोबाट बचाउनका लागि र उनीहरूको स्वास्थ्यलाई कुनै किसिमको असर नपारोस भनेर स्वीटर वितरण गरेको गच्छदारले बताए ।
विपत व्यवस्थापनको लागि आएको रकम खर्च गरी स्वीटर किनिएको बताइएको छ । चाँडै नै ज्येष्ठ नागरिकको लागि पनि कम्मल वितरण गर्ने कार्यक्रम रहेको विपत व्यवस्थापन विभागका स्रोत व्यक्ति विमलनारायण चौधरीले बताए ।
सो कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार, उप–प्रमुख सुनिता दाहाल (साह), वडा अध्यक्ष, कर्मचारीलगायत उपस्थित थिए ।