खोटाङः खोटाङको एँेसेलुखर्क गाउँपालिकाका ७ वटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ ।

त्रिभुवन मावि (एँेसेलुखर्क), माक्पा मावि (माक्पा), कालिका बाल विकास मावि (राखा), कालिका मावि (बाकाचोल), शान्तोदय मावि (ज्यामिरे), सिम्ले मावि (जलेश्वरी) र शिशु मावि (महेश्वरी)मा सोलार प्यानल जडान गरिएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुरको आर्थिक सहयोगमा प्रत्येक विद्यालयमा २÷२ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले बताए । उनले भने, ‘सोलारले कम्प्युटर कक्षा सञ्चालन, इ–हाजिरी, शिक्षण सिकाइमा सहज र विद्युतीय काममा सहयोग पुगेको छ ।’

गाउँपालिकाको पहलमा एपेक्स सौर्य ऊर्जा कम्पनीले उक्त विद्यालयमा सोलार प्यानल जडान गरेको जनाइएको छ । सौर्य प्रणाली जडान गरिएपछि सबै विद्यालयमा कम्प्युटर कक्षा शुरु भएको छ । ७ वटा वडा रहेको उक्त गाउँपालिकामा ८ वटा माध्यमिक विद्यालय रहेका छन् । तीमध्ये जालपा मावि बाकाचोलमा सौर्यबत्ती जडान गर्न बाँकी रहेको गाउँपालिकाका प्रमुख निरौलाले बताए ।

निरौलाका अनुसार सो विद्यालयमा पनि सर्वेक्षणको काम सकिएकाले चाँडै नै जडान गरिने भएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् भरपर्दो नभएपछि ती विद्यालयमा सौर्य प्रणाली जडान गरिएको गाउँपालिकाका प्रमुख निरौलाले बताए ।

सौर्य ऊर्जाबाट विद्यालयमा जुनसुकै समयमा पनि कम्प्युटर कक्षालगायत विद्युतीय काम गर्न सहज भएको सिम्ले मावि जलेश्वरीका प्रधानाध्यापक नीरकुमार कट्टेलले बताए ।