विराटनगरः मुटु रोगबाट पीडित सुनसरीको सोनापुरका एमडी करिमुदिन मियाँ राम्रो उपचारको खोजीमा १५ वर्षसम्म भौँतारिए । नेपालमा मात्र नभई छिमेकी देश भारतका विभिन्न ठाउँमासमेत उपचारका लागि पुगेका उनको नोबेल अस्पतालमा उपचार भएको छ ।

मुटुको भल्ब साँघुरिएर वर्षौंदेखि समस्यामा रहेका ४५ वर्षीय मियाँलाई नोबेलले पिटिएमसी पद्धतिबाट उपचार गरेर निको बनाएको हो । ‘१५ वर्ष अघिदेखि मुटुको समस्याले सास फेर्न र हिँड्नसमेत गाह्रो भएर उपचार खोज्दै धेरैतिर भौँतारिएँ,’ उनी भन्छन्, ‘उपचारका लागि देश विदेश सबैतिर पुगेँ । तर, अन्तिममा नोबेलमा आएर निको भयो ।’

उपचारका लागि उनी भारतको अररिया र पुर्निया पनि पुगे । काठमाडांै पनि धेरै पटक धाए । धेरै अस्पतालमा बताइएअनुसार वर्षौंदेखि औषधी गरिरहे । औषधीले केही समय मत्थर भए पनि रोग निको भने भएन । काठमाडौंको एक अस्पतालले ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्छ भनेपछि उनी डराएर घर फर्किए ।

हालै पिटिएमसी पद्धतिबाट बिना चिरफार रोग निको भएपछि उनी खुशी छन् । ‘छाती चिर्नुपर्छ भनेर धेरै डर लागेको थियो । तर, चिरफार नै नगरी १५ वर्षदेखिको पीडाबाट मुक्ति पाएँ’, उनले भने, ‘मुटुमा गाडिएको किलो उखेलेर फालेजस्तो हलुका भएको छ ।’

मुटुको भल्ब साँघुरिएका मियाँको खुट्टाको नशाबाट बेलुन छिराएर मुटुको भल्ब खोलिएको नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेश नेपालले बताए । ‘बिना अप्रेसन बेहोस नपारी भल्ब खोल्न मिल्ने हुनाले बिरामीलाई धेरै सहज हुन्छ,’ अस्पताल निर्देशकसमेत रहेका डा. नेपाल भन्छन् ।
ptmc (2)