फाइल तस्बिर
झापाः इलाममा अनसनरत प्रा. डा. गोविन्द केसीलाई काठमाडौं लगिएपछि अर्का अनसनकारी विजय थापालाई पनि काठमाडौं लाने तयारी गरिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार थापाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएकाले आजै काठमाडौं लैजाने योजना अनुरुप भद्रपुर ल्याइएको छ ।
राति प्राडा केसी र थापालाई अलगअलग एम्बुलेन्समा राखेर भद्रपुर ल्याइएको थियो । चन्द्रगढी विमानस्थल ल्याइपु¥याएपछि प्राडा केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएकाले उनलाई मात्रै सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।
प्राडा केसीको स्वास्थ्य अवस्थाका कारण थापालाई पनि एउटै हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी सम्भव हुन नसकेको बताइएको छ । थापालाई भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको छ ।
प्राडा केसीको उपचार भइरहेको काठमाडौँस्थित शिक्षण अस्पतालमा नै थापालाई पनि लगिने थापाका निकट सहयोगी पुष्प भण्डारीले बताए ।