इलामः ६ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले इलाममा जुलुस निकालेका छन् ।
सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारवाही गर, विधिको शासनको विरोध गर्ने होशियारजस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका थिए । विद्यार्थीले अनशनरत् डा. केसीको मागको विरोध गरेका थिए ।
उनीहरूले अर्का अनशनरत विद्यार्थी तथा सामाजिक अभियन्ता विजय थापालाई समर्थन गरेका थिए । विद्यार्थीले जनताका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहसनहस पार्न खोजेको आरोप लगाएका थिए ।
इलाम चोक बजारस्थित थापाको अनसनस्थलबाट शुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गर्दै फेरि बजारमै आएर सभामा परिणत भएको थियो । सभामा सम्बोधन गर्दै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग जायज भएको बताए ।
डा केसीले सबै माग पूरा हुनुपर्छ भन्नु ‘बालहठ’ भएको भन्दै तत्काल केसीले तत्काल अनसन तोड्नुपर्ने उनको भनाइ थियो । सभामा सम्बोधन गर्दै विद्यार्थी ईश्वरी तामाङले सबै जनताका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने अधिकार कुण्ठित गर्न नहुने बताए ।