बेलबारीः खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा जिल्ला कमिटी मोरङले सोमबार कविर मावि बेलबारीका दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

बेलबारी नगरपालिका वार्ड नम्बर २ लालभित्तीमा रहेको विद्यालयमै पुगेर ती नेत्रहीन विद्यार्थीहरूलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो ।

न्यानो कपडा (ज्याकेट) वितरण गर्दै खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा मोरङा जिल्ला अध्यक्ष रणेन्द्र थिम्राहाङले आफ्नो पार्टी शोषित पीडित जनताको पार्टी भएकाले आफूहरूले अपाङ्गता भएका छात्रछात्राहरूलाई न्यानो कपडा वितरण गरेको बताए ।

खम्बुवान मुक्ति मोर्चा जिल्ला कमिटी मोरङका सचिव राजुदेव राईले दिएको जानकारीअनुसार सोमबार कविर मावि बेलबारीमा अध्ययनरत १२ जना नेत्रहीन विद्यार्थीहरूले ज्याकेट पाएका छन् । जाडोको मौसममा यसरी ज्याकेट पाउँदा दृष्टिविहीन विद्यार्थीहरू पनि खुशी देखिन्थे ।

विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गौतमले जाडोको मौसममा अपाङ्गता भएका छात्रछात्रालाई ज्याकेट वितरण गर्नु मानवीय काम रहेको बताए । वितरित ज्याकेटका कारण अपाङ्गता भएका विद्यार्थीहरूको पढाइमा ठूलो सहयोग पुग्ने आशा विद्यालयले लिएको उनले बताए ।

न्यानो कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली पुरी, खम्बुवान मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षद्वय दिलराम खम्बू र संगम खम्बू रहेका थिए । केन्द्रीय सदस्य किस्तर खम्बू र उमेश खम्बू, नारी मोर्चाका केन्द्रीय अध्यक्ष देशमाया राई, युवा मोर्चाका अध्यक्ष कमल गुरुङ लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

कोणसभा पनि
मोर्चाले सोमबार नै बेलबारीमा एक कोणसभाको आयोजना गरी राज्यलाई खबरदारी गरेको छ ।

कोण सभालाई खम्बुवान मुक्ति मोर्चाका उपाध्यक्षद्वय डिल्लीराम खम्बू र संगम खम्बू, जिल्ला कमिटी मोरङका अध्यक्ष रणेन्द्र थिम्राहाङलगायतले सम्बोधन गरेका थिए ।

Maghesankranti Mahotsav namje