पाँचथरः पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराएका महिलाले यातायात खर्चबापतको रकम पाउन छाडेको २ महिना भएको छ । प्रदेश सरकारले पर्याप्त बजेट निकासा नगर्दा पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराउने आमाले यातायात खर्चबापतको रकम पाउन नसकेका हुन् ।

नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीलाई १ हजार ४ सय रुपैयाँ यातायात खर्च प्रदान गर्ने गर्दछ । चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमार्फत् सरकारले उक्त यातायात खर्च दोब्बर पारिएको घोषणा ग¥यो । सोहीअनुसार स्वास्थ्य संस्थामा परिपत्रसमेत जारी ग¥यो तर, घोषित नीतिअनुसार बजेट निकासा नहुँदा पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराउन आउने महिलाले रकम नपाएका हुन् ।

पाँचथर जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बुद्धिबहादुर थापाका अनुसार माथिल्लो निकायको परिपत्रअनुसार अस्पतालले गत साउनदेखि अस्पतालमा सुत्केरी गराउन आउने महिलालाई २ हजार ८ सय रुपैयाँ यातायात खर्च वितरण गर्न थालेको थियो । पछि निकासा हुने विश्वासमा अस्पताल विकास समितिको बजेटबाट समेत सुत्केरीलाई यातायात खर्च वितरण गरिएको थियो । अस्पतालले चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सुत्केरी गराएबापत २ हजार ८ सय रुपैयाँका दरले रकम वितरण गरेको थापाले बताए । प्रदेशबाट विनियोजित बजेट सकिएपछि मङ्सिरदेखि सुत्केरी आमालाई यातायात खर्च प्रदान गर्न नसकिएको थापाको भनाइ छ ।

पाँचथर जिल्ला अस्पताल विगतदेखि नै प्रसूति र महिला स्वास्थ्य सेवाका लागि चर्चित छ । विगतमा डा. पवनजङ्ग रायमाझी, डा. पवनकुमार शाहलगायत चिकित्सकले सेवा दिएको अस्पतालमा अहिले महिला तथा प्रसूतिसम्बन्धी विशेषज्ञ डा बुद्धिबहादुर थापाले सेवा दिइरहो छन् ।

यहाँ मासिक ९० देखि १ सय जना महिला सुत्केरी गराउन आउने गरेको डा. थापाले बताए । तीमध्ये मासिक १५ देखि २० जनाको अस्पतालमै शल्यक्रिया हुने गरेको थापा बताउँछन् ।