सोलुखुम्बुः गत आर्थिक वर्षमा सोलुखुम्बुमा ६ जना गर्भवती महिलाले ज्यान गुमाएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

अस्पतालका अनुसार छेस्काम पेल्माककी ३२ वर्षीया महिला र देउसा चेराखुकी १८ वर्षीया महिलाको साल अड्किएर तथा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको हो ।

त्यसैगरी टाक्सिन्दु रिङ्मुकी ५० वर्षीया महिला र देउसा गैरीगाउँकी १८ वर्षीया महिलाकोे अत्यधिक रक्तस्रावका कारण ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै काँकु नामकी २४ वर्षीया महिला र देउसा रनेमकी ३० वर्षीया अर्की महिलासहित गत वर्ष ६ जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । उनीहरूमध्ये ४ जनाले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच नगराएको र अस्पतालमा प्रसूति नगराएको अस्पतालले जनाएको छ ।