बेलबारीः उपचार अभावमा मृत्युसँग लडिरहेका एकै परिवारका दिदीभाइको उपचारमा बेलबारी नगरपालिकाले सहयोग गर्ने भएको छ । बेलबारी नगरपालिका वडा नम्बर ९ का स्थानीय नलबहादुर धिमालकी २२ वर्षीया छोरी आस्मा र ८ वर्षीय छोरा अमित धिमालको नगरपालिकाले उपचार गर्ने भएको हो ।
उनीहरू जन्मिएको केही महिनापछि जीउमा सेतो दुबी देखा परेको थियो । उपचार गराउन आर्थिक अभावले नसकेको समयमा उनीहरूको उपचारमा बेलबारी नगरपालिकाले सहयोग गर्ने भएको हो ।
‘दुबी शरीरभर फैलिएको र घाउसमेत हुन थालेको थाहा पायौँ’, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले भने, ‘आर्थिक अभावमा कोही पनि थला परेर बस्नु पर्दैन भनिसकेका छौँ ।’
उपचार गर्न नसक्दा दिदीभाइको आँखाको ज्योति गुम्ने खतरा बढिरहेका बेला मेयर सुवेदीले आफैँ चासो दिएका हुन् । आस्मा जन्मिएको ६ महिना र अमित जन्मिएको ३ महिनापछि उनीहरूको शरीरमा सेतो दुबी आएको बाबु नलबहादुर बताउँछन । ५ जना सन्तानमध्ये अन्य ३ जनामा समस्या नरहेको उनले बताए ।
अरुको जमिनमा खेती गरेर परिवार पाल्दै आएका धिमाल दुवै छोरीछोरीको आँखा समेत बन्द हँुदै गएपछि थप चिन्तामा परेका थिए । उनीहरूको उपचारका लागि वडा नम्बर ९ ले समेत सहयोग गर्ने वडा अध्यक्ष नगेन्द्र खड्काले बताए । उनीहरूको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूसँग कुरा भइरहेको समेत उनले बताए ।