बेलबारीः प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताएकी छिन् । मोरङको बेलबारी–३ मा रहेको भगवती माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सवमा बोल्दै उनले राष्ट्रले लिएको लक्ष्य पूरा गर्न शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताइन् ।

उपसभामुख तुम्बाहाम्फेले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक, विद्यार्थी र विद्यालयको त्रिपक्षीय भूमिका महत्वपूर्ण हुने बताए । सामुदायिक विद्यालयमा सरकारको लगानी बढी भए पनि सोअनुसारको लक्ष्य प्राप्त हुन नसकिरहेको बताउँँदै उपसभामुख तुम्बाहाम्फेले अब प्रदेश र स्थानीय सरकारले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ध्यान दिनुपर्नेमा जोड दिइन् ।

जिल्ला शिक्षा समन्वय समितिका प्रमुख राजेन्द्र बुढाथोकी, बेलबारी नगरपालिकाकी उपप्रमुख तारा पराजुली, पूर्वसांसद गुरु बराल, मधु गुरुङलगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वशिक्षक, उत्कृष्ट विद्यार्थी एवं विभिन्न प्रतियोगितामा विजेता भएकालाई पुरस्कार र सम्मान गरिएको थियो ।