सोलुखुम्बुः सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि सो जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराएको अध्यक्ष राईले बताए । अध्यक्ष राईका अनुसार सो जग्गामा ५० शैय्याको अस्पताल निर्माण हुने छ । सुविधासम्पन्न अस्पताल निर्माणका लागि सहयोग जुटाउन आगामी चैतमा श्रीमद् भागवत सप्ताहज्ञान बृहत् महायज्ञ आयोजना गरिने गाउँपालिकाले जनाएको छ ।

अस्पताल निर्माण भएपछि महङ्गो रकम खर्चेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता हट्ने उनले बताए । महायज्ञबाट २० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको राईले बताए ।