भोजपुरः भोजपुरमा स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्या बढेको छ । ग्रामीण क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा वान हर्ट वल्र्ड वाइडले तालीम दिनुका साथै अल्ट्रासाउण्ड मेसिन वितरण गरेपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्या वृद्धि भएको हो ।

आमा र बच्चाको लागि सुरक्षा सञ्जाल नामक परियोजना सञ्चालनपछि जिल्लाका ८ वटा स्थानीय तहका ११ वटा स्वास्थ्य संस्थालाई पोटेबल भिडियो एक्सरे मेसिन र तालिम दिइएको बताइएको छ । त्यस्तै, ३५ वटा प्रसूति कक्षमा सो संस्थाले १ वर्ष अघिदेखि सहयोग पु¥याउँदै आएको जनाएको छ ।

आमचोक गाउँपालिकामा यस वर्ष मेसिन र तालिम प्रदान गरिने वान हर्ट वल्र्ड वाइडका जिल्ला संयोजक रबिन जोशीले बताए । आमचोक गाउँपालिकामा घुम्ती शिविरमार्फत् १ सय ११, पौवादुम्मा गाउँपालिकामा २२ र भोजपुर नगरपालिकामा ६३ जनाले भिडियो एक्सरे सेवा लिएको बताइएको छ ।

यो सेवा बिस्तार भएपछि स्वास्थ्य संस्थामा गर्भवती जाँच र सुत्केरी हुने सङ्ख्यामा वृद्घि भएकोे आमचोक गाउँपालिकाका स्वास्थ्य संयोजक महिनारायण चौधरीले बताए । त्यस्तै, टेम्केमैयुङ गाउँपालिकाले ८९ हजार २ सय रुपैयाँ बजेट विनियोजन गरी गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यक्रम बिस्तार गर्न लागेको गाउँपालिकाका स्वास्थ्य संयोजक दानप्रसाद राईले बताए ।

राईका अनुसार यसभन्दा अघि सो कार्यक्रम अन्नपूर्ण र तिम्मा स्वास्थ्य संस्थाबाट निःशुल्क गरिएको बताइएको छ । अब छिनामखु, नागी, खावा, कोट, गोगने र लेखर्कबाट प्रत्येक २–२ महिनामा एक पटक सेवा प्रदान गरिने भएको छ ।