इटहरीः सरकारले हालै ल्याएको कर्मचारी समायोजन ऐन स्वास्थ्यकर्मीमैत्री नभएको स्वास्थ्यकर्मीले बताएका छन् ।

सङ्घको हालै भएको प्रादेशिक भेलामा सङ्घीय संरचनामा स्वास्थ्यको दरबन्दीप्रति गरिएको निर्णयमा सहभागीहरूले आपत्ति जनाउँदै शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताएका थिए ।

प्रदेश नं. १ का जिल्ला अध्यक्ष, सचिव र प्रतिनिधिबाट सङ्घको जिल्लागत गतिविधिको बारेमा रिपोर्टिङ पनि भएको थियो । कार्यक्रममा हेल्थ असिस्टेन्ट सङ्घ नेपालका कार्यवाहक अध्यक्ष दीपेन्द्र खड्का प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले स्वास्थ्य क्षेत्रका कर्मचारीको समायोजन गर्दा तहगत तथा स्तरवृद्धिको आधारमा नभई पदीय ज्येष्ठता र न्यूनतम् शैक्षिक योग्यताको आधारमा दरबन्दी तयार गर्नुपर्नेमा जोड दिइएको थियो । स्वास्थ्य मन्त्रालयले यसमा बेवास्ता गरे शान्तिपूर्ण आन्दोलन गर्ने उनले बताए ।

कार्यक्रमका वक्ताहरूले सङ्घीय संरचनामा स्वास्थ्यको दरबन्दी तेरिजमा हेल्थ असिष्टेण्टलाई सम्मानजनक स्थान दिनुपर्ने बताएका थिए । राज्यले हेल्थ असिस्टेन्टहरूलाई तलबी सुविधामा उच्च शिक्षा एमबीबीएस र बीपीएच अध्ययन गराउनुपर्नेमा जोड दिएका थिए ।