धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभागअन्तर्गत ३ विभाग थप भएका छन् ।

एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान गर्न असहज भएपछि मुटु, फोक्सो, पेटसम्बन्धी छुट्टै विभाग बनाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले बताए ।

उनका अनुसार इन्टर्नल मेडिसिनलाई अहिले विभाजन गरी मेडिसिन कार्डियोलोजी विभाग, मेडिसिन पल्मोलोजी विभाग, मेडिसिन ग्याष्ट्रोेलोजी विभाग छुट्टै बनाइएको छ । कार्डियोलोजी विभागको प्रमुखमा मुटुरोग विशेषज्ञ प्राडा प्रल्हाद कार्कीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै फोक्सो सम्बन्धी विभाग पल्मोलोजीको जिम्मेवारी डा. नरेन्द्र भट्टलाई दिइएको छ । पेटसम्बन्धी ग्याष्ट्रोेलोजी विभागको प्रमुखमा डा विक्रम श्रेष्ठ नियुक्त भएका छन् । यसअघि जनरल मेडिसिन विभागमार्फत् यी सेवा प्रदान गर्ने गरिएको थियो ।

प्रतिष्ठानमा बिरामीको चापलाई कम गर्न तथा मेडिकल शिक्षामा सबै विभागबाट सेवा सहजरूपमा उपलब्ध गराउन विभाग थप गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार बताउँछन् ।