इटहरीः पुस २१ गते शनिबार हुने नेपाल जनस्वास्थ्यकर्मी सङ्घ (नेफा)को १ नं. प्रदेश चुनावका लागि प्रगतिशील समूहका उम्मेद्वारहरुले १३ बुँदे घोषणापत्र सहित चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।
सङ्घको प्रादेशिक चुनावमा प्रगतिशील समूहको तर्फबाट अनिलकुमार देवको समूहलाई विजयी गराउन सोमबार झापाको दमक र मङ्गलबार इटहरीमा प्रचारप्रसार गरिएको सो समूबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका विपुल अधिकारीले जानकारी दिए ।
इटहरीमा भएको छलफल कार्यक्रमका सहभागी राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको केन्द्रीय सदस्य रामकुमार धमलाले प्रगतिशील समूहले अगाडि सारेका एजेण्डा जनस्वास्थ्यकर्मीको हकहितका लागि सहायक हुने बताए । प्रगतिशील समूहलाई जिताउन सबै जनस्वास्थ्यकर्मीलाई उनले आग्रह पनि गरे । ‘परिवर्तन, पेशागत विकास र तथ्यमा आधारित जनस्वास्थ्यमा सेवा, प्रगतिशील समूहको प्रतिबद्धता भन्ने चुनावी नाराका साथ प्रगतिशील समूह निर्वाचनमा होमिएको छ ।
सो समूहबाट अनिलकुमार देव अध्यक्ष र विपुल अधिकारी उपाध्यक्षमा उम्मेद्वार रहेका छन् । सचिवमा मनिष सुवेदी, सह सचिवमा प्रवीण यादव र कोषध्यक्षमा चिन्तामणि पोख्रेलले उम्मेद्वारी दिएका छन् । खुला सदस्यमा देवेन्द्र भट्टराई, नीता गौतम, कुबेर भट्टराई, निरज नेपाल र समावेशी सदस्यमा मजवुल आलमले उम्मेद्वारी दिएको बताइएको छ ।
उपाध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार इटहरीका पुरुषोत्तम निरौलाले आफ्नो उम्मेद्वारी फिर्ता लिई अनिलकुमार देवको प्रगतिशील समूहलाई सर्मथन गरेको प्रगतिशील समूहले जनाएको छ । पुस २१ गते सङ्घको ७ वटै प्रदेशको निर्वाचन हुने छ । प्रदेश नं. १ मा सङ्घमा २ सय १७ जना जनस्वास्थ्यकर्मी रहेका छन् ।