भोजपुरः भोजपुर जिल्लामा कालाजारका बिरामी फेला परेपछि यसको नियन्त्रणका लागि विशेष योजना बन्ने भएको छ । जिल्लाको अरुण गाउँपालिका–२ चम्पेमा २ जना व्यक्तिमा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना बनाएर उपचार गरिने भएको हो ।
कालाजारको रोकथामका लागि स्थानीय तहले खेल्नुपर्ने भूमिकाको विषयमा मङ्गलबार जानकारी दिइएको छ । भुसुनाको माध्यमबाट सर्ने भएकाले यो रोग शुरुवाती अवस्थामै पहिचान गरेर उपचार गर्नु राम्रो हुने कार्यक्रममार्फत् जानकारी गराइएको छ ।
कालाजारका लक्षण विशेषगरी हल्का ज्वरो आउने, कमजोरी महसुस हुने र भोक नलाग्ने आदि हुने स्वास्थ्यकर्मी बताउँछन् । तीव्र ज्वरो, रक्तअल्पता, कलेजो डढ्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, जस्ता लक्षण देखिने क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख कृष्ण मिजारले बताए ।