सोलुखुम्बुः विराटनगरको नोबेल शिक्षण अस्पतालले सोलुखुम्बुको विकट गाउँमा शल्यक्रियासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सो शिविरमार्फत् १ हजार ७५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको वुङमा सञ्चालन गरिएको शिविरमा १७ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।
दाहालका अनुसार २ सय ३ जनाको भिडियो एक्सरे, १ सय ४७ जनाको ईसीजी र ३ सय १० जनाको रगत परीक्षण गरिएको थियो । त्यस्तै, २१ जनाको दाँत फुकाल्नुका साथै ४ सय ५५ जनाको रक्तचाप परिक्षण गरिएको बताइएको छ । शिविरमा आँखा रोग, हाडजोर्नी, मानसिक रोग, बालरोग, स्त्रीरोग, नाक कान घाँटी र छाला रोगका बिरामी बढी मात्रामा आएको अस्पतालको भनाइ छ ।
उपचारका लागि धेरै बिरामी २ दिनसम्मको बाटो हिँडेर शिविरमा आएको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले बताए । हिँड्न नसक्ने बिरामीलाई पनि डोकोमा बोकेर ल्याइएको अस्पतालले जनाएको छ । शिविरमा बिरामीलाई औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।
शिविरका लागि नोबेलबाट २७ जना विशेषज्ञ डाक्टरहरुको टोली बुङ पुग्दा स्थानीयले स्वागत गरेका थिए ।