धरानः राष्ट्रिय शैक्षिक परामर्श सङ्घ प्रदेश १ समितिको गठन भएको छ ।
वैदेशिक अध्ययनमा तेस्रो मुलुक जाने विद्यार्थीहरूलाई परामर्श दिने शैक्षिक संस्थाको भेलाले समिति गठन गरेको हो । परामर्श सेवामा संलग्न पूर्वका कन्सल्टेन्सी सञ्चालकहरूको भेलाले इडन एकेडेमी कन्सल्टेन्सी धरानका सञ्चालक मोहन तिगेलालाई अध्यक्षमा चयन गरेको हो ।
सोमबार इटहरीमा भएको भेलाले सङ्घको उपाध्यक्षमा दिवाकरलाल चौधरी, सचिवमा टीका ढकाल र कोषाध्यक्षमा निरज पौडेललाई चयन गरेको छ । सदस्यहरूमा गम्भीर भगत, बेन्जु ताम्राकार, टीकाराम न्यौपाने, सुवास लुइँटेल, सन्तोष कुरुम्बाङ, विशाल खुलाल र प्रकाश कार्कीलाई चयन गरेको छ ।
पूर्वमा रहेर शैक्षिक परामर्श दिने ६० भन्दा बढी कन्सल्टेन्सी सञ्चालकहरू भेलामा सहभागी थिए । भेलामा राष्ट्रिय शैक्षिक परामर्श सङ्घका केन्द्रीय संयोजक सन्तोष प्याकुरेल, वरिष्ठ सल्लाहकार सरोज बस्नेत र दिराज शर्मा शिवाकोटीको उपस्थिति थियो ।
प्रदेश अध्यक्षमा निर्वाचित भएपछि तिगेलाले पूर्वमा रहेका कन्सल्टेन्सीहरूलाई सशक्तिकरण गर्दै तालिम दिई क्षमता अभिवृद्घि गरिने बताए । उनले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सक्षम बनाउँदै लैजाने काममा परामर्शदाताहरूको भूमिका लाई जिम्मेवार बनाउने कार्यमा सङ्घको भूमिका महत्वपूर्ण रहने भएकाले त्यसका लागि सबै कन्सल्टेन्सीहरूलाई सङ्घमा आबद्ध गराउने बताए ।
वैदेशिक शिक्षाका लागि परामर्शदाता संस्थाहरूको सङ्ख्या पूर्वमा २ सय हाराहारीमा रहेको सङ्घले जनाएको छ ।