काठमाडौँः काठमाडौँ महानगरपालिका लगायतको उपत्यकाको फोहोर मैला प्रभावित क्षेत्रका स्थानीयले आफुहरुको मागको सम्बोधन नभए कठोर कदम चाल्ने चेतावनी दिएका छन् । 
शनिबार धादिङ सिमानामा पर्ने सिसडोल हुदै बञ्चरेडाँडा कुडुलेमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले विगत १८ वर्षदेखि काठमाडौँ महानगरपालिका सहित १८ वटा पालिकाको फोहोर विसर्जन गरेर संघीय राज्य र काठमाडौँ महानगरपालिका गैर जिम्मेवार रुपमा प्रस्तुत भइरहेको आरोप लगाए ।
कार्यक्रममा धादिङको धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले संघीय राज्य र काठमाडौँ महानगरपालिकाले प्रभावित क्षेत्रका नागरिकहरूको जीवनशैलीमा गम्भीर खेलबाड गरेको भन्दै आक्रोश पोखे । उनले मानवीय सवेंदनासंग जोडिएको विषय भएकाले तत्काल सम्बोधन नगरे कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिए ।
उनले भने ‘प्रभावित क्षेत्रका नागरिकहरू विभिन्न सरुवा एवं दीर्घरोगको शिकार बनिरहेका छन । यो अवस्थामा संघीय राज्य र काठमाडौँ महानगरपालिका असाध्यै गैर जिम्मेवार रुपमा प्रस्तुत भइरहेको हामीले महसुस गरिरहेका छौ । प्रभावित नागरिकहरूको जीवनशैलीमा गम्भीर खेलबाड भइरहेको यो अवस्थामा हामी प्रभावित क्षेत्रका जनप्रतिनिधि टुलुटुलु हेरेर बस्ने यो अवस्थामा हुनै सक्दैन । त्यस कारण मानवीय सवेंदनासंग जोडिएको यो महत्त्वपूर्ण विषय तत्काल सम्बोधन गर्न हामी जोडदार माग गर्दछौ । यी मागहरु तत्काल सम्बोधन नभएमा कठोर कदम चाल्न हामी बाध्य हुने छौ ।’
यस्तै स्थानीय विष्णु प्रसाद उप्रेतीले काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले पनि यस विषयमा कुनै किसिमको चासो नदेखाएको गुनासो गरे ।
उनले मेयर साहले स्थानीयलाई फोहोर व्यवस्थापन गर्ने आश्वासन मात्र दिएर बेवास्ता गरेको टिप्पणी गरे ।
उनले भने ‘बालेन साहले अस्ति आएर यो भन्दा पहिला सरकारले हेरेको छैन रहेछ । अब म आए म गर्छु भन्नु भयो तर यो ८ महिना सम्म उहाँको काम हेरीसक्यौं अहिलेसम्म आउनुभएको छैन । हिजो भनेको कुरा केही गर्नुभएन यहाँका मानिस नै फोहोरी हुन् । यही बस्छन् भन्ने जस्तो गर्नुभयो ।’ उप्रेतीले विकासको नाममा सधैँ झुक्याउने मात्र काम भएको गुनासो गरे ।
                    
        
        
                            
                                                            
        



















