इटहरीः उदयपुरमा प्रतिबन्धित गाँजाको अवैध कारोबार, भण्डारण र ओसारपसारको सञ्जाल विस्तार हुँदै गएको पछिल्ला प्रहरी कारबाहीले संकेत गरेका छन् । जिल्लाका विभिन्न स्थानमा छोटो अवधिमै ठूलो परिमाणमा गाँजा बरामद हुन थालेपछि उदयपुर गाँजा भण्डारण र ढुवानीको प्रमुख केन्द्रका रूपमा प्रयोग भइरहेको आशंका बढेको छ । तर, करोडौँको अवैध कारोबारको जालो सञ्चालन गर्ने मुख्य कारोबारीसम्म प्रहरी अनुसन्धान पुग्न सकेको छैन ।


जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ देखि चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनासम्ममा उदयपुरबाट १५ हजार १०५ दशमलव ०४४ किलोग्राम गाँजा बरामद भएको छ । यस अवधिमा गाँजासम्बन्धी करिब ७० वटा मुद्दा दर्ता भएका छन् । ठूलो परिमाणमा गाँजा बरामद हुनु, बोरामा प्याक गरेर जंगल तथा अन्य स्थानमा लुकाउनु र ट्रकमार्फत ढुवानी गर्नुले कारोबार संगठित रूपमा भइरहेको आशंका थप बलियो बनाएको छ ।


पछिल्लो पटक गत बिहीबार बेलका नगरपालिका–७ स्थित वन क्षेत्रमा लुकाएर राखिएको अवस्थामा प्रहरीले दुई हजार ८२० दशमलव ५०० किलोग्राम गाँजा बरामद गरेको थियो । ८५ वटा बोरामा प्याक गरी लुकाइएको गाँजा विशेष सूचनाका आधारमा प्रहरीले फेला पारेको हो । यति ठूलो परिमाणमा गाँजा कसले, कहाँबाट ल्याएर र कुन गन्तव्यमा पुर्‍याउने उद्देश्यले जंगलमा भण्डारण गरेको थियो भन्ने अझै खुलेको छैन । घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यसअघि बेलका नगरपालिका–८ मैनामैनीबाट प्रहरीले एकैपटक सात हजार ८२६ दशमलव ८०० किलोग्राम गाँजा बरामद गरेको थियो । सशस्त्र प्रहरी र नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाका आधारमा प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्दा २४६ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको गाँजा फेला परेको थियो । उक्त घटनामा ट्रकचालक फरार भएका थिए । ठूलो परिमाणमा गाँजा ट्रकमा लुकाएर ओसारपसार गर्ने प्रयास हुनुले जिल्लामा ढुवानीका लागि सवारीसाधन प्रयोग गर्ने संगठित समूह सक्रिय रहेको आशंका गरिएको छ ।


त्यस्तै, गत साउन र भदौमा मात्रै प्रहरीले एक हजार ४२८ दशमलव ६४ किलोग्राम गाँजा बरामद गरेको थियो । कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन र त्रियुगा नगरपालिकाको लालपत्ताबाट गाँजा बरामद गर्दा नौजना पक्राउ परेका थिए ।


प्रहरीको तथ्यांकले पछिल्ला वर्षमा गाँजासम्बन्धी कारोबार र नियन्त्रणका घटनाको निरन्तरता देखाउँछ । आर्थिक वर्ष २०८०/८१ मा २४८ दशमलव ०८५ किलोग्राम गाँजा बरामद हुँदा २७ जना पक्राउ परेका थिए । उक्त वर्ष १८ वटा मुद्दा दर्ता भएका थिए ।


आर्थिक वर्ष २०८१/८२ मा भने बरामद गाँजाको परिमाण बढेर एक हजार ७५३ किलोग्राम पुगेको थियो । सो वर्ष ३९ जना पक्राउ परेका थिए भने २७ वटा मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा एक हजार ४८ दशमलव ४९९ किलोग्राम गाँजा बरामद भएको प्रहरीको अर्को विवरणमा उल्लेख छ । यस अवधिमा २८ जना पक्राउ परेका छन् भने १६ वटा मुद्दा दर्ता भएका छन् ।


जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी गणेशबहादुर बमका अनुसार गाँजा ओसारपसारमा प्रयोग भएका सवारीसाधनका चालकदेखि सवारीधनीसम्मको संलग्नता अनुसन्धानबाट खुल्ने गरेको छ । कतिपय अवस्थामा सवारीधनीलाई जानकारी नै नदिई चालकले गाँजा ढुवानी गर्ने गरेको र कतिपय घटनामा सवारीधनी स्वयं कारोबारमा संलग्न रहेको पाइएको उनले बताए ।


गाँजा बरामद गरेर ढुवानीमा संलग्न व्यक्तिलाई पक्राउ गर्नु मात्र पर्याप्त नभएको भन्दै प्रहरीले कारोबारको मुख्य सञ्जालसम्म पुग्ने प्रयास गरिरहेको उनको भनाइ छ । ‘अनुसन्धान जारी छ । अब गाँजाको कारोबार गर्ने मुख्य व्यापारीलाई नै पक्राउ गर्न सक्छौँ,’ बमले भने ।


जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईँले पनि गाँजा कारोबारमा संलग्न व्यक्तिको पहिचान र सञ्जालको खोजी भइरहेको बताएका छन् । उनका अनुसार ढुवानीका क्रममा पक्राउ पर्ने चालक र सवारीधनीको भूमिकालाई अलग(अलग रूपमा अनुसन्धान गर्नुपर्ने अवस्था छ । चालकले मात्रै कारोबार गरेको हो वा सवारीधनीको समेत मिलेमतो छ भन्ने विषय अनुसन्धानबाट यकिन गरिने प्रहरीले जनाएको छ ।


भण्डारणस्थल कि ओसारपसारको ट्रान्जिट ?

उदयपुरका विभिन्न स्थानमा पटकपटक ठूलो परिमाणमा गाँजा बरामद हुन थालेपछि जिल्लाको भौगोलिक अवस्थिति र प्रयोग भइरहेको ढुवानी मार्गबारे पनि प्रश्न उठ्न थालेको छ । विशेषगरी बेलका क्षेत्रमा छोटो अवधिमा हजारौँ किलो गाँजा फेला पर्नुले उक्त क्षेत्र भण्डारणस्थलका रूपमा प्रयोग भइरहेको हुन सक्ने आशंका गरिएको छ ।


सरोकारवालाहरूका अनुसार गाँजा एकैपटक हजारौँ किलोको परिमाणमा संकलन गरेर जंगल वा अन्य सुनसान स्थानमा लुकाइनु सामान्य व्यक्तिगत कारोबारभन्दा फरक प्रकृतिको गतिविधि हो । यसले गाँजा संकलन, भण्डारण र ढुवानीका लागि विभिन्न व्यक्तिको संलग्नतामा सञ्जाल सञ्चालन भइरहेको हुन सक्ने देखाउँछ ।


तर, बरामद गाँजा कहाँ उत्पादन भएको हो, उदयपुरमा ल्याएर कहाँ पठाउने तयारी गरिएको थियो र यसको आर्थिक कारोबार कसले सञ्चालन गरिरहेको छ भन्ने प्रश्न अझै अनुत्तरित छन् । प्रहरीले ढुवानीका क्रममा संलग्न चालक तथा केही व्यक्तिलाई पक्राउ गरे पनि मुख्य लगानीकर्ता, खरिदकर्ता र कारोबारको सञ्जाल पहिचान गर्न सकेको छैन ।


गाँजा बरामद भएका स्थानमा मात्रै केन्द्रित अनुसन्धानले यसको वास्तविक सञ्जाल पत्ता लगाउन कठिन हुने जानकारहरूको भनाइ छ । कारोबारको स्रोत, भण्डारणस्थल, ढुवानी मार्ग, गन्तव्य र आर्थिक लगानीको पक्षलाई जोडेर अनुसन्धान गर्न सके मात्रै मुख्य कारोबारीसम्म पुग्न सकिने उनीहरूको तर्क छ ।


पछिल्ला घटनाले उदयपुरमा गाँजा नियन्त्रणको चुनौती केवल बरामदको परिमाणमा सीमित नरहेको देखाएको छ । हजारौँ किलो गाँजा बरामद भइरहँदा त्यसको पछाडि रहेको कारोबारी समूह भने अझै पहिचान हुन सकेको छैन । त्यसैले अब प्रहरीका लागि मुख्य चुनौती गाँजा भेटिएको स्थानमा पुग्नु मात्र नभई त्यसको स्रोतदेखि बजारसम्म फैलिएको सम्भावित सञ्जाल भत्काउनु बनेको छ ।