इटहरीः  सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक रहेको पुष्टि भएको छ । भन्सार छली गरेर ल्याइएका विभिन्न सामानसँगै फेला परेको उक्त पदार्थ प्रयोगशालाको परीक्षणबाट कम विस्फोटक पदार्थ (गन पाउडर) मा प्रयोग हुने घटक भएको खुलेको हो ।


प्रहरीले सुरुमा शंकास्पद वस्तुका रूपमा नियन्त्रणमा लिएको पदार्थको वास्तविक प्रकृति परीक्षण प्रतिवेदन प्राप्त भएपछि मात्रै खुलेको हो । यससँगै प्रहरीले घटनामा पक्राउ परेका तीन जनामाथि अभद्र व्यवहारसम्बन्धी कसुरसँगै विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाएको छ ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गत कात्तिक १० गते धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद भएको थियो । इटहरीबाट धरानतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–००२ ख १६१८ नम्बरको मिनी ट्रकलाई रोकेर जाँच गर्दा बोराभित्र प्याकिङ गरिएको अवस्थामा ४७ किलो सेतो ठोस पदार्थ फेला परेको थियो ।


भन्सार छली गरी ल्याइएका अन्य सामानसँगै उक्त पदार्थ पनि ओसारपसार भइरहेको अवस्थामा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । बरामद पदार्थको वास्तविक प्रकृति तत्काल पहिचान हुन नसकेपछि प्रहरीले परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको थियो ।


प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनले उक्त पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने कम विस्फोटक पदार्थ अर्थात् गन पाउडरको घटक रहेको पुष्टि गरेको प्रहरीले जनाएको छ । परीक्षण प्रतिवेदन प्राप्त भएपछि घटनाको अनुसन्धानलाई थप गम्भीर बनाउँदै विस्फोटक पदार्थसम्बन्धी कसुरको पक्षसमेत जोडिएको हो ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० चन्द्रबहादुर खड्काका अनुसार मिनी ट्रकमा सवार व्यक्तिहरूले भन्सार छली गरेर ल्याइएका विभिन्न सामानसँगै उक्त पदार्थ पनि ढुवानी गरिरहेका थिए ।


सवारीसाधन जाँचका क्रममा प्रहरीले सामान नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी कर्मचारीमाथि समेत अभद्र व्यवहार गरेको खड्काले बताए । त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमार्फत अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको थियो ।


घटनामा पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र सोही स्थानका ४२ वर्षीय कार्तिक राजवंशी रहेका छन् ।


कात्तिक १० गते बरामद भएको पदार्थको प्रकृति प्रयोगशालाको परीक्षणपछि मात्रै यकिन भएको हो । परीक्षण प्रतिवेदनबाट विस्फोटक पदार्थ बनाउन प्रयोग हुने घटक रहेको पुष्टि भएपछि प्रहरीले पक्राउ परेका तीनै जनामाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाएको हो ।


कहाँबाट आयो, कहाँ लैजाँदै थिए ? 

भन्सार छली गरेर ल्याइएका सामानसँगै विस्फोटक पदार्थ बनाउन प्रयोग हुने घटक फेला पर्नुले यसको स्रोत र प्रयोजनबारे प्रश्न उठाएको छ । ४७ किलोको परिमाणमा बरामद भएको उक्त पदार्थ कहाँबाट ल्याइएको थियो, कसले पठाएको थियो र कहाँ पुर्‍याउने तयारी गरिएको थियो भन्ने विषय अझै खुल्न सकेको छैन ।


त्यसैगरी, बरामद पदार्थ व्यक्तिगत प्रयोजनका लागि ल्याइएको हो वा यसको पछाडि थप व्यक्ति तथा समूहको संलग्नता छ भन्ने विषय पनि अनुसन्धानकै क्रममा छ ।


प्रहरीले मिनी ट्रकमा सवार तीन जनाको भूमिका, सामानको स्रोत तथा ढुवानीको उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी खड्काका अनुसार अनुसन्धानबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ ।


भन्सार छली गरेर ल्याइएका सामानको नियमित जाँचका क्रममा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने घटक फेला पर्नुले सीमावर्ती क्षेत्रबाट हुने अवैध ओसारपसारको निगरानी र नियन्त्रणको विषयलाई समेत गम्भीर बनाएको छ ।


प्रहरीले भने प्रयोगशालाको प्रतिवेदनका आधारमा घटनाको थप अनुसन्धान अघि बढाएको छ । अब अनुसन्धानको मुख्य विषय बरामद पदार्थको स्रोत, ओसारपसारमा संलग्न व्यक्तिहरूको भूमिका र त्यसको वास्तविक प्रयोजन पहिचान गर्नु रहेको छ ।