विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिले आगामी स्थानीय तह निर्वाचन, पार्टी अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित, निष्पक्ष र व्यवस्थित बनाउन कडा निर्देशन जारी गरेको छ।


पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको निर्देशनअनुसार कोशी प्रदेशअन्तर्गतका सम्पूर्ण पार्टी संरचना, पदाधिकारी, सदस्य तथा आकांक्षीहरूलाई अक्षरशः पालना गर्न आग्रह गर्दै प्रदेश समितिले चारबुँदे निर्देशन जारी गरेको हो।


कोशी प्रदेश समितिका महामन्त्री निरज कटुवालद्वारा  शुक्रबार जारी अत्यन्त जरुरी सूचनामा स्थानीय निर्वाचनका लागि उम्मेदवार क्लबमा आवेदन दिँदैमा उम्मेदवारी सुनिश्चित नहुने स्पष्ट पारिएको छ।


सूचनामा आवेदन दिएकै आधारमा आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने वा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट उम्मेदवारी घोषणा र प्रचारप्रसार गर्ने कार्य पूर्ण रूपमा विधानविपरीत हुने उल्लेख छ। त्यस्ता सामग्री तत्काल हटाउनसमेत निर्देशन दिइएको छ।

rssp


त्यस्तै, उम्मेदवार छनोट प्रक्रियामा व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब वा धम्की प्रयोग गर्न नपाइने प्रदेश समितिले जनाएको छ। आर्थिक लेनदेन, उपहार, भोजभतेर तथा शक्तिको दुरुपयोग गरी निर्वाचन प्रभावित पार्ने कार्यलाई निषेध गरिएको छ।


निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियासँग सम्बन्धित पार्टीका आन्तरिक दस्तावेज, निर्णय, छलफल र व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न पनि निर्देशन दिइएको छ। आधिकारिक स्वीकृतिबिना संवेदनशील सूचना सार्वजनिक गर्ने वा अनधिकृत व्यक्तिलाई उपलब्ध गराउने कार्यलाई गम्भीर अपराध मानिने सूचनामा उल्लेख छ।


पार्टीको निर्देशन, विधान तथा आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई उल्लङ्घनको गम्भीरताका आधारमा तत्काल उम्मेदवारी खारेजी, प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट मुक्त गर्नेदेखि पार्टी सदस्यता समाप्तिसम्मको कारबाही गरिने चेतावनी दिइएको छ।


प्रदेश समितिले पद, पहुँच वा प्रभावका आधारमा कसैले पनि पार्टीको विधि र विधानभन्दा माथि रहने छुट नपाउने स्पष्ट पारेको छ।


पार्टीभित्रको लोकतन्त्र, आन्तरिक अनुशासन र संस्थागत मर्यादालाई आत्मसात् गर्दै सबै सदस्य तथा नेतृत्वका आकांक्षीलाई निर्देशनको पूर्ण पालना गर्नसमेत आग्रह गरिएको छ।