इटहरीः डिजिटल सशक्तीकरण, महिला आत्मनिर्भरता, सामाजिक न्याय र मानवीय सेवामा सक्रिय एमडीआर टिमले ७ हजारभन्दा बढीलाई फेसबुक मोनेटाइजेसन प्रक्रियामा सहजीकरण गर्दै सामाजिक रूपान्तरणको अभियान अघि बढाएको छ।


सामाजिक सञ्जाललाई मनोरञ्जन, व्यक्तिगत प्रचार र समय बिताउने माध्यममा मात्र सीमित नराखी आर्थिक सशक्तीकरण, सामाजिक जागरण, न्यायको पक्षमा आवाज र मानवीय सेवाको प्रभावकारी माध्यम बनाउन सकिन्छ भन्ने उदाहरण एमडीआर टिम (MDR Team) ले प्रस्तुत गरेको छ।


अमेरिकामा बसोबास गर्दै आउनुभएका केदार तिम्सिनाको नेतृत्वमा सञ्चालित एमडीआर टिमले डिजिटल प्रविधिको माध्यमबाट नेपाली महिला, युवा तथा नयाँ कन्टेन्ट क्रिएटरलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यसहित आफ्नो अभियान विस्तार गर्दै आएको छ। डिजिटल सशक्तीकरणसँगै सामाजिक अन्यायविरुद्ध आवाज उठाउने र विपद्का समयमा मानवीय सहयोग पुर्‍याउने कार्यमा समेत टिम सक्रिय देखिएको छ।


सन् २०२६ जनवरी १८ मा ४० जना सदस्यलाई समेटेर स्थापना भएको एमडीआर टिम अहिले करिब १०० सदस्यको साझा अभियानका रूपमा विस्तार भएको छ। प्रारम्भिक रूपमा नेपालका महिला तथा नयाँ कन्टेन्ट क्रिएटरलाई फेसबुक मोनेटाइजेसनसम्बन्धी जानकारी र प्राविधिक सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको यो अभियान हाल २३ वटा राष्ट्रका व्यक्तिहरूलाई जोड्न सफल भएको छ।

लामो समयदेखि अमेरिकामा रहँदै आउनुभएका संस्थापक तथा नेतृत्वकर्ता केदार तिम्सिनाले नेपालमा पनि फेसबुक मोनेटाइजेसन सुविधा उपलब्ध हुन थालेपछि विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका महिला दिदीबहिनीलाई डिजिटल माध्यमबाट आम्दानी गर्ने अवसर सिर्जना गर्नुपर्ने सोच अघि सार्नुभएको थियो।

सामाजिक सञ्जालमा नेपालीहरूको बढ्दो सहभागितालाई आम्दानी, सीप विकास र सिर्जनशीलतासँग जोड्न सके आर्थिक आत्मनिर्भरताको नयाँ सम्भावना खुल्ने विश्वासका साथ अभियान सुरु गरिएको टिमले जनाएको छ।

केदार तिम्सिना : प्रविधि र डिजिटल मोनिटाइजेसनका अनुभवी नेतृत्वकर्ता
अमेरिकामा रहेर सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत केदार तिम्सिना कम्प्युटर साइन्स विषयमा स्नातक तहको अध्ययन पूरा गरेका प्रविधि क्षेत्रका दक्ष जनशक्ति हुन्। उनी विगत ६ वर्षदेखि अमेरिकाको एक अग्रणी बैंकमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत छन्।
प्रविधि क्षेत्रमा हासिल गरेको शैक्षिक ज्ञान र व्यावसायिक अनुभवलाई डिजिटल प्लेटफर्मको विकास तथा विस्तारमा उपयोग गर्दै आएका तिम्सिना अमेरिकाबाट सञ्चालन हुँदै आएको फेसबुक मोनिटाइजेसन समूहको नेतृत्व गरिरहेका छन्। एमडीआर टिम (MDR Team) नामक पेजमार्फत सञ्चालित उक्त समूहको नेतृत्व गर्दै उनले फेसबुक मोनिटाइजेसनसम्बन्धी गतिविधि, सहकार्य र डिजिटल अवसरको विस्तारमा भूमिका निर्वाह गर्दै आएका छन्।

७ हजारभन्दा बढीलाई फेसबुक मोनेटाइजेसनमा सहजीकरण

एमडीआर टिमको प्रमुख उपलब्धिमध्ये फेसबुक मोनेटाइजेसन प्रक्रियामा सहजीकरण गर्नु महत्वपूर्ण मानिएको छ। टिमले हालसम्म ७ हजारभन्दा बढी व्यक्तिलाई फेसबुक मोनेटाइजेसनसम्बन्धी प्रक्रियामा जोडिन तथा आवश्यक प्राविधिक सहयोग प्राप्त गर्न सहजीकरण गरिसकेको जनाएको छ।

विशेषगरी फेसबुकबाट आम्दानी गर्न आवश्यक पर्ने पेआउट सेटअप, भुक्तानीसम्बन्धी विवरण व्यवस्थापन तथा अन्य प्राविधिक प्रक्रियामा समस्या भोगिरहेका व्यक्तिहरूलाई टिमले निःशुल्क सहयोग उपलब्ध गराउँदै आएको छ।
पेआउट सेटअप तथा प्राविधिक सहजीकरणका लागि कतिपय व्यक्तिले १५ हजारदेखि २५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको सन्दर्भमा एमडीआर टिमले निःशुल्क सेवा प्रदान गर्नु डिजिटल पहुँच विस्तारको दृष्टिले महत्वपूर्ण पहल बनेको छ।

आर्थिक अवस्था कमजोर भएका, प्राविधिक ज्ञानको कमी भएका तथा ग्रामीण क्षेत्रबाट सामाजिक सञ्जालमा सक्रिय व्यक्तिहरूलाई लक्षित गरी सहयोग पुर्‍याउने अभियानले धेरै नयाँ क्रिएटरलाई डिजिटल आम्दानीको सम्भावनाबारे जानकारी लिन सहज बनाएको छ।

टिमले मोनेटाइजेसनमा जोडिएका व्यक्तिहरूलाई निरन्तर सक्रिय राख्न, गुणस्तरीय सामग्री निर्माण गर्न र सिर्जनशीलता अभिवृद्धि गर्न विभिन्न च्यालेन्ज, स्टार वितरण तथा प्रोत्साहनमूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

उत्कृष्ट सामग्री निर्माण गर्ने क्रिएटरलाई प्रोत्साहन गर्ने, उनीहरूको क्षमता पहिचान गर्ने र एमडीआर टिममा आबद्ध गराएर थप अवसर प्रदान गर्ने कार्यले नयाँ प्रतिभालाई अघि बढ्न प्रेरणा मिलिरहेको छ।

सामाजिक अन्यायविरुद्ध डिजिटल अभियान

एमडीआर टिमको सक्रियता डिजिटल आम्दानी र फेसबुक मोनेटाइजेसनमा मात्र सीमित छैन। समाजमा अन्याय, विभेद र हिंसामा परेका व्यक्तिहरूको पक्षमा आवाज उठाउनु पनि टिमको महत्वपूर्ण उद्देश्य बनेको छ।

विशेषगरी निर्मला पन्तले न्याय पाउनुपर्ने मागसहित एमडीआर टिमले सामाजिक सञ्जालमार्फत निरन्तर आवाज उठाउँदै आएको छ। संगठित रूपमा सामाजिक सञ्जालमा उठाइएको आवाजले उक्त विषयलाई राष्ट्रिय बहसमा ल्याउन सहयोग पुगेको र संसद्समेत यस विषयमा आवाज उठेको प्रसङ्गले डिजिटल अभियानको प्रभावकारिता देखाएको टिमको बुझाइ छ।

त्यसैगरी चौधरी प्रकरणलगायत समाजमा चर्चामा आएका विभिन्न अन्यायका घटनामा पनि टिमले पीडितको पक्षमा ऐक्यबद्धता जनाउँदै आएको छ।
महिला अधिकार, सामाजिक न्याय, मानवअधिकार, विभेदविरुद्धको अभियान र पीडितलाई न्याय दिलाउनुपर्ने मागलाई सामाजिक सञ्जालमार्फत व्यापक बनाउने प्रयासले एमडीआर टिमलाई डिजिटल क्रिएटरहरूको समूहभन्दा फरक सामाजिक अभियानका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ।

सामाजिक सञ्जालमा संगठित आवाज उठाउँदा सम्बन्धित निकाय र सरोकारवालाको ध्यानाकर्षण गराउन सकिने तथा सार्वजनिक चासोका विषयलाई राष्ट्रिय बहसमा पुर्‍याउन सकिने विश्वासका साथ टिमले यस्ता अभियानलाई निरन्तरता दिँदै आएको छ।

रसुवाको विपद्मा मानवीय सहयोग

एमडीआर टिमले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने क्रममा विपद्का समयमा पनि सहयोग गर्दै आएको छ।

रसुवामा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ मानिस प्रभावित भएको कठिन परिस्थितिमा एमडीआर टिमका सदस्यहरू राहत तथा सहयोग अभियानमा सक्रिय भएका थिए।

विपद्बाट प्रभावित क्षेत्रमा पुगेर भौतिक तथा आर्थिक सहयोग जुटाउने र पीडितलाई आवश्यक साथ दिने कार्यमा टिमका सदस्यहरूले आफ्नो क्षमताअनुसार योगदान पुर्‍याएका थिए।

विदेशमा बसेर पनि मातृभूमिमा आइपर्ने विपद् र नागरिकका दुःखप्रति संवेदनशील हुँदै सहयोगमा जुट्नु यस अभियानको मानवीय पक्ष हो। अमेरिकालगायत विभिन्न देशमा रहेका नेपालीलाई एउटै सामाजिक उद्देश्यमा जोडेर नेपालमा आवश्यक पर्दा सहयोग पुर्‍याउन सकिने सम्भावना पनि एमडीआर टिमको गतिविधिले देखाएको छ।

केदार तिम्सिनाको नेतृत्वमा अन्तर्राष्ट्रिय सञ्जाल

अमेरिकामा बसोबास गर्दै आउनुभएका केदार तिम्सिनाले आफ्नो व्यक्तिगत व्यस्तताका बीच पनि नेपालको सामाजिक तथा आर्थिक अवस्थासँग जोडिएर काम गरिरहेका छन् । 

विशेषगरी नेपालका महिला दिदीबहिनी, युवा र नयाँ कन्टेन्ट क्रिएटरलाई डिजिटल प्रविधिको उपयोगमार्फत आम्दानी गर्ने अवसर सिर्जना गर्न उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्  ।

६० सदस्यबाट सुरु भएको अभियानलाई करिब १०० सदस्य र २३ राष्ट्रसम्म विस्तार गर्नुका साथै हजारौँ व्यक्तिलाई फेसबुक मोनेटाइजेसनको प्रक्रियामा सहजीकरण गर्न सक्नु टिमको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

यस अभियानले विदेशमा रहेका नेपालीले आफ्नो ज्ञान, सीप, अनुभव र प्रविधिसम्बन्धी दक्षतालाई मातृभूमिको सामाजिक तथा आर्थिक विकाससँग जोड्न सक्ने सम्भावना उजागर गरेको छ।

तिम्सिनाको नेतृत्वमा टिमले व्यक्तिगत सफलता मात्र नभई सामूहिक सफलता, अवसरको समान पहुँच र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको देखिन्छ।

सामाजिक सञ्जाललाई परिवर्तनको माध्यम बनाउने प्रयास

आज सामाजिक सञ्जालको प्रभाव समाजका हरेक क्षेत्रमा विस्तार भइरहेको छ। सूचना प्रवाह, विचार निर्माण, आर्थिक गतिविधि र सार्वजनिक बहसमा यसको भूमिका महत्वपूर्ण बन्दै गएको छ।

यस्तो अवस्थामा सामाजिक सञ्जाललाई सकारात्मक उद्देश्यका लागि प्रयोग गर्नु आवश्यक छ। डिजिटल प्लेटफर्ममार्फत आम्दानी गर्ने अवसर सिर्जना गर्नु, नयाँ प्रतिभालाई प्रोत्साहन गर्नु, महिलालाई आर्थिक रूपमा सक्षम बनाउनु र अन्यायमा परेका नागरिकका पक्षमा आवाज उठाउनु समाजका लागि महत्वपूर्ण विषय हुन्।

एमडीआर टिमले अघि सारेको अभियानले सामाजिक सञ्जाललाई केवल भर्चुअल संसारमा सीमित नराखी वास्तविक जीवनमा आर्थिक तथा सामाजिक परिवर्तन ल्याउने माध्यमका रूपमा उपयोग गर्न सकिने सन्देश दिएको छ।

यद्यपि फेसबुक मोनेटाइजेसनबाट आम्दानी गर्न निरन्तर मेहनत, मौलिक सामग्री निर्माण, प्लेटफर्मका नीति तथा नियमको पालना र सिर्जनशीलता आवश्यक हुन्छ। त्यसैले नयाँ क्रिएटरलाई सही जानकारी, प्राविधिक ज्ञान र निरन्तर प्रोत्साहन उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण छ।

अभियानलाई अझ व्यापक बनाउने अपेक्षा

६० जनाबाट सुरु भएको एमडीआर टिमको यात्रा आज करिब १०० सदस्य र २३ राष्ट्रसम्म विस्तार हुनु सामूहिक प्रयासको परिणाम हो। सात हजारभन्दा बढी व्यक्तिलाई डिजिटल आम्दानीको यात्रामा सहजीकरण गर्ने अभियानले भविष्यमा अझ धेरै महिला, युवा तथा ग्रामीण क्षेत्रका प्रतिभालाई अवसरसँग जोड्न सक्ने सम्भावना बोकेको छ।

डिजिटल सशक्तीकरणसँगै सामाजिक न्याय, महिला अधिकार, मानवता र विपद्का समयमा सहयोग गर्ने अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजान सके एमडीआर टिम अन्तर्राष्ट्रिय स्तरमा रहेका नेपालीहरूको सामाजिक सहकार्यको उदाहरण बन्न सक्छ।

आफू सफल हुनु मात्र उपलब्धि होइन, आफूले प्राप्त गरेको अवसर, ज्ञान र अनुभव अरूलाई पनि बाँडेर उनीहरूलाई सफलताको बाटो देखाउनु वास्तविक सामाजिक योगदान हो।

यही सोचलाई आत्मसात् गर्दै अमेरिकादेखि नेपालको गाउँ–गाउँसम्म सामाजिक सेवाको सञ्जाल विस्तार गर्ने अभियानमा जुट्नुभएका केदार तिम्सिना र एमडीआर टिमको प्रयास प्रशंसनीय छ। आगामी दिनमा यो अभियान अझ व्यवस्थित, पारदर्शी, प्रभावकारी र सेवामुखी बन्दै जाओस् भन्ने अपेक्षा गर्न सकिन्छ।