झापाः प्रदेश नं १ मा विश्वविद्यालय स्थापना गर्न झापाबाट सम्भाव्यता अध्ययन शुरु गरिएको छ ।
प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय स्थापना गर्न गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलले बिहीबारदेखि झापाबाट अध्ययन शुरु गरेको हो ।
कार्यदलले बिहीबार झापाको बिर्तामोडमा अन्तक्र्रियाको आयोजना गरी विभिन्न राजनीतिक दलका नेता, सांसद, पूर्वमन्त्री, स्थानीय तहका जनप्रतिनिधि, प्राध्यापक, विद्यार्थी सङ्गठन तथा स्ववियुको प्रतिनिधित्वमा दृष्टिकोण सङ्कलन गरेको छ ।
कार्यदलका संयोजक प्रा.डा. महेशराज दाहालले विश्वविद्यालय स्थापना गर्न सरोकारवाला पक्षसँग परामर्श गरी सुझाव सङ्कलन गरिने बताए । कार्यदल सदस्य उमानाथ ओलीले हाल सञ्चालनमा रहेका विश्वविद्यालय, तिनका आङ्गिक वा सम्बन्धनप्राप्त कलेजको अध्ययन अध्यापनको शैलीमा रूपान्तरण गर्न आवश्यक रहेको महसुस गरेर नयाँ खुल्ने विश्वविद्यालयको समग्र विषय वस्तुबारे जानकारी लिइने बताए ।
छलफलमा सहभागीबाट विश्वविद्यालयको आवश्यकता, उपयुक्त मापदण्ड र ढाँचा, विश्वविद्यालय रहने स्थान, सङ्गठनात्मक स्वरूप, सङ्काय, अध्ययन संस्थान एवं वित्तीय पक्षका बारेमा सुझाव मागिएको थियोे ।
छलफलमा पूर्वसंस्कृतिमन्त्री खगेन्द्र प्रसाईं, प्रदेशसभा सदस्य वसन्त बानियाँ, हीरा थापा, जसमाया गजमेर, झलकसिंह दर्लामी, पूर्णसिंह राजवंशी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल सहभागी थिए । त्यस्तै, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, भद्रपुरका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सल्लाह सुझाव दिएका थिए ।
कार्यदलमा प्रा डा दाहालसहित डा देवी क्षेत्री दुलाल, पीतकुमार श्रेष्ठ, उमानाथ ओली, उमानाथ रिजाल, रुपेश खतिवडा, उद्धव शर्मा, रमेश रोका सदस्य छन् भने सदस्य सचिवमा सूर्य सुवेदी रहेका छन् ।