इटहरीः 

विषयगत प्रश्नोत्तर

१. कर भनेको के हो ? कर कति प्रकारका हुन्छन् ? स्पष्ट पार्नुहोस् । (२+३) ५

 

कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले प्रचलित कानुनबमोजिम सरकारलाई अनिवार्य रूपमा बुझाउनुपर्ने राजस्वलाई कर भनिन्छ ।

कर भनेको कुनै व्यक्तिले विशेष लाभका लागि सरकारद्वारा जनहितका लागि गरिने खर्च बेहोर्नका लागि अनिवार्य रूपमा तिर्ने रकम हो भनी प्रो. सेलिगम्यानले परिभाषित गरेका छन् ।

सरकारले कानुनबमोजिम नागरिकबाट कर असुल गर्दछ किनभने कर नै राज्यको आम्दानीको प्रमुख स्रोत हो ।

कर भनेको :

– सरकारलाई तिर्नुपर्ने अनिवार्य रकम,

– सरकारको राजस्वको प्रमुख स्रोत,

– विधायिकी कानुनद्वारा मात्र करारोपण गर्ने,

– सार्वजनिक हितका लागि राज्यद्वारा खर्च गरिने,

– सरकारी वित्त नीतिको एक प्रमुख उपकरण ।

 

करका प्रकार

 

करको असर र भारका आधारमा करलाई दुई भागमा विभाजन गर्न सकिन्छ:

प्रत्यक्ष कर (Direct tax)

- जुन करको भार र असर एकै व्यक्तिमाथि पर्ने हुन्छ, त्यस्तो करलाई प्रत्यक्ष कर भनिन्छ ।

- प्रत्यक्ष कर करदाताले अरू व्यक्तिको थाप्लोमा सार्न सक्दैन ।

- आयकर तथा सम्पत्ति कर प्रत्यक्ष करका उदाहरण हुन् ।

- जुन व्यक्तिको आय वा सम्पत्तिमा कर लगाइन्छ, उसले आफैंले त्यस्तो कर बेहोर्नुपर्ने हुन्छ ।

- आयकर, पारिश्रमिक कर, उद्योग, पेसा, व्यापार तथा व्यवसायसम्बन्धी कर, सम्पत्ति कर, घर–जग्गा कर, ब्याज कर, घरजग्गा रजिस्ट्रेसन, सवारी साधन कर आदि प्रत्यक्ष करअन्तर्गत पर्दछन् ।

- प्रत्यक्ष करमा करको भार अहस्तान्तरणीय हुन्छ ।

 

अप्रत्यक्ष कर (Indirect tax)

- करदाताले आफूले तिरेको करको भार अरू व्यक्तिमा सार्न सकिने करलाई अप्रत्यक्ष कर भनिन्छ ।

- कर तिर्ने भार एक पक्षमा र सो करको प्रभाव अर्को पक्षमा पर्दछ भने त्यस्तो करलाई अप्रत्यक्ष कर भनिन्छ ।

- अन्तःशुल्क, भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सवारी साधन कर होटल कर, हवार्ई उडान कर आदि अप्रत्यक्ष करअन्तर्गत पर्दछन् ।

- अप्रत्यक्ष करमा करको भार हस्तान्तरणीय हुन्छ र यस करलाई अप्रगतिशील कर पनि भनिन्छ ।

 

२. नेपालको आर्थिक विकासमा निजी क्षेत्रले खेल्ने भूमिकाबारे छोटकरीमा टिप्पणी गर्नुहोस् ।  ५

 

नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका:

- वस्तु तथा सेवाको उत्पादन र वितरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी गर्न सक्ने क्षमता वृद्धि गर्ने ।

- राज्यद्वारा निर्धारित ऐन कानुन, नीति नियमको मापदण्डभित्र रही उद्योग व्यापार, व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना गर्ने ।

- जनताका दैनिक आवश्यकताको परिपूर्तिमा भूमिका निर्वाह गर्ने ।

- स्वदेशमा उत्पादित वस्तु र सेवाको अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने ।

- मुलुकमा उपलब्ध प्राकृतिक स्रोत साधनको उपयोग गर्ने तथा विभिन्न उद्योग, व्यवसाय सञ्चालन गर्ने ।

- करको माध्यमबाट राजस्व अभिवृद्धि हुने ।

- पूर्वाधार विकासमा सहयोग पुग्ने ।

- सामाजिक न्याय कायम गर्न सहयोग पुग्ने ।

- सरकारी क्षेत्रको जिम्मेवारी र प्रशासनिक बोझ कम हुने ।

- कृषि, उद्योग, पर्यटन, व्यापार, जलस्रोतलगायतका आर्थिक क्रियाकलापमा लगानी गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउने ।

- विकास योजनाको अनुगमन कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने ।

- सर्वांगीण सन्तुलित तथा समतामूलक विकासमा योगदान पुग्ने ।

 

३. उपभोक्ता स्वास्थ्यको परिचय दिई उपभोक्ता संरक्षण ऐन, २०५४ अनुसार कुनै पनि खाद्यवस्तु उत्पादनले आफ्नो उत्पादनमा अनिवार्य रूपले उल्लेख गर्नुपर्ने चारवटा जानकारी लेख्नुहोस् ।  ५

 

उत्तर : उपभोक्ता स्वास्थ्य:

- समुदायका लागि समुदायकै व्यक्तिहरूले समुदायमा रहेका स्वास्थ्य समस्या पहिचान गरी त्यसको समाधान गर्न एवं व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा सुधार ल्याउन गरिने क्रियाकलाप नै उपभोक्ता स्वास्थ्य हो ।

- स्वस्थ वातावरणको सिर्जना, स्वस्थ जनशक्ति उत्पादन, स्वास्थ्य सेवाको उपलब्धता, समान सेवाको भावना, उपभोक्तासँग सम्बन्धित कानुनको पालना, सरसफाइ तथा स्वस्थ वातावरणको सिर्जना जस्ता क्षेत्रलाई उपभोक्ता स्वास्थ्यले समेटेको हुन्छ ।

 

उपभोक्ता संरक्षण ऐन, २०५४ अनुसार उत्पादनमा अनिवार्य खुलाउनुपर्ने कुराहरू:

- उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर

- खाद्य पदार्थ र औषधि जस्ता उपभोग्य वस्तुमा उक्त वस्तुको मिश्रण, त्यसको परिणाम र तौल

- गुणस्तर निर्धारण सो वस्तुको गुणस्तर

- उपभोग्य वस्तु उपभोग गर्ने तरिका र सो वस्तु उपभोग गरेबाट हुन सक्ने प्रभाव आदि ।

 

४. वैकल्पिक ऊर्जा भनेको के हो ? नेपालमा ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको महत्व र उपयोगबारे चर्चा गर्नुहोस् । ३+७ 

उत्तर : वैकल्पिक ऊर्जा

 

- जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् इन्धनबाहेक परम्परागत रूपमा रहेका काठ, दाउरा, धुवाँरहित चुलो सुधारिएको पानीघट्टलगायत सौर्य ऊर्जा, वायु ऊर्जा, बायोग्याँस आदिलाई वैकल्पिक ऊर्जा भनिन्छ ।

- नेपालको संविधानले नवीकरणीय ऊर्जाको विकास गरी आधारभूत आवश्यकता परिपूर्तिका लागि शुपथ र सुलभ रूपमा भरपर्दो ऊर्जाको आपूर्ति गर्ने नीति अंगीकार गरेको छ ।

- १४औं योजनाको दीर्घकालीन लक्ष्यमा वैकल्पिक ऊर्जाको प्रयोगबाट दिगो आर्थिक विकास हासिल गर्ने सोच रहेको छ ।

 

नेपालमा ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको महत्व र उपयोग:-

- विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेको ग्रामीण बस्तीहरूमा सौर्य ऊर्जाको प्रयोग गर्न सकिन्छ ।

- ग्याँस उपलब्ध नहुने स्थानमा सुधारिएको चुलो प्रयोग गर्न सकिन्छ ।

- ढिकी, जाँतोको ठाउँमा पानीघट्टको प्रयोग गर्न सकिन्छ ।

- गोबरग्याँसको माध्यमबाट बिजुली बाल्ने तथा खाना पकाउने कार्य सम्पादन गर्न सकिन्छ ।

- हावाको गति हुने स्थानमा वायु ऊर्जाको प्रयोग गर्ने ।

- वैकल्पिक ऊर्जाको माध्यमबाट ग्रामीण अन्धकार

हटाउन सकिन्छ ।

 

५. द्वन्द्व भनेको के हो ? द्वन्द्वले समाजमा पार्ने असर र त्यसको समाधानका कुनै चार उपाय उल्लेख गर्नुहोस । (२+४+४).१०

उत्तर : द्वन्द्वको अर्थ

 

द्वन्द्व विभिन्न व्यक्ति, समूह संगठन वा समाजबीच उत्पन्न हुने खटपट, बेमेल, मनमुटाव, वैमनस्यता अथवा असंगति हो । जुन निश्चित उद्देश्य लक्ष्य एवं मूल्य र मान्यताका लागि गरिएको हुन्छ ।

द्वन्द्व व्यक्ति–व्यक्तिका बीचमा, समूह–समूहका बीचमा, संस्थासंस्थाका बीचमा, संगठन–संगठनका बीचमा तथा समाजहरूका बीचमा फरक–फरक किसिमले हुन्छ ।

 

सामाजिक विवाद तथा द्वन्द्व

 

समाजमा रहेका विभिन्न जातिहरू, समुदायहरू, भाषाभाषीहरू, लैंगिक, धार्मिक व्यक्तिहरूबीच आफ्नो धर्म, संस्कृति, भाषा, लिंगलगायत विकास र त्यसबाट प्राप्त हुने लाभको वितरणजस्ता विषयमा समाजमा विवाद उत्पन्न हुन्छ । विवादका कारण समाजमा गरिने संघर्षलाई सामाजिक द्वन्द्व भनिन्छ ।

सामाजिक द्वन्द्व विशेषगरी आर्थिक पक्ष, सामाजिक पक्ष, सांस्कृतिक पक्ष, राजनीतिक पक्ष, धार्मिक पक्षलगायत विविध पक्षसँग सम्बन्धित हुन्छन् ।

सामाजिक स्वार्थ पूरा गर्न समाजमा विवाद र द्वन्द्वको सिर्जना हुन्छ । द्वन्द्व चर्किंदै जाँदा यसले गम्भीर रूप पनि लिन सक्छ । साथै समाज रूपान्तरणमा सघाउ पु¥याउन पनि सक्छ त्यसैले यसको उचित व्यवस्थापन हुन आवश्यक हुन्छ जसको अभावमा सामाजिक विखण्डनको खतरा पनि रहन्छ ।

 

द्वन्द्वले समाजमा पार्ने सकारात्मक असर

 

  • चुस्त बनाउँछ ।
  • गलत निर्णय हुन दिँदैन ।
  • समाजलाई जीवन्तता, गतिशील र स्फूर्ति प्रदान गर्छ ।
  • काम गर्ने वातावरण सहज र सरल बनाउँछ ।
  • कमी कमजोरी सुधार्ने अवसर प्राप्त हुन्छ ।

 

नकारात्मक असर

 

  • विकासमा अवरोध
  • हिंसा, मुठभेड र विध्वंसको सिर्जना हुन सक्ने
  • पीडा दुःख र हैरानी, कष्ट
  • धनजनको क्षति, अशान्ति, अत्याचार र अनियमितता
  • सामाजिक एकता र सहिष्णुता खलबलिने

 

समाधानका उपायहरू

 

  • कारण पहिचान विश्लेषण र साझा मिलन बिन्दुको खोजी गर्ने,
  • सर्वपक्षीय छलफल अन्तरक्रिया र निष्कर्ष,
  • चेतना अभिवृद्धिमा जोड दिने,
  • समझदारी कायम गर्ने,
  • एकतामा जोड दिन खुला मनस्थितिले समाधान खोज्ने ।