धरानः धरान उपमहानगरको व्यस्त बजार भानुचोकलाई धरान उपमहानगरले व्यवस्थित गर्न नयाँ योजना अघि सारेको छ । शहरी विकास मन्त्रालयको सहयोगमा धरानको भानुचोकलाई नयाँ स्वरूपमा विकास गर्न डिपिआर तयार गरिएको छ ।
विराटनगरदेखि धरानसम्मको क्षेत्रलाई मेघा सिटी बनाउने परियोजनाअन्र्तगत मन्त्रालयले भानुचोकमा बेसमेन्टसहितको पार्क निर्माण गर्ने गरी डिपिआर तयार गरेको उपमहानगरले जनाएको छ ।
कन्सल्टेन्टमार्फत् तयार भएको डिपिआर मन्त्रालयमा पुगेको छ । यो डिपिआरबमोजिम भानुचोक पुनःनिर्माण भएमा अहिलेको अस्तव्यस्त भानुचोक सुन्दर पार्कमा परिणत हुने बताइएको छ ।
भानुचोकमा रहेको घण्टाघरभित्र अहिले पनि पार्क छ । त्यस्तै सुन्दर पार्क भानुचोक एरियाभरि निर्माण हुनेछ । आकर्षक बगैँचा, मान्छे हिँड्नलाई बाटो, गफ गर्ने ठाउँ, ठाउँठाउँमा पानीको फोहोरा निर्माण हुने र भानुचोकमा पूर्णकदको भानुभक्तको सालिक रहने बताइएको छ ।

















