इटहरीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका सभापति, महामन्त्री तथा प्रतिनिधिसभाका चार सांसदसँग प्रत्यक्ष राजनीतिक सम्बन्ध रहेको इटहरी उपमहानगरपालिकामै पार्टीको संगठन विस्तार अपेक्षाकृत कमजोर देखिएको छ। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी रूपमा संगठन विस्तार तथा सदस्यता अभियान तीव्र बनाइरहेका बेला इटहरीमा भने संगठन निर्माणभन्दा आगामी निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षाले प्राथमिकता पाउन थालेको पार्टीभित्रकै केही कार्यकर्ताको दाबी छ।


रास्वपाको आधिकारिक पोर्टलमा उपलब्ध पछिल्लो तथ्यांकअनुसार इटहरी उपमहानगरपालिकाका २० वडामा हालसम्म ४ हजार ५ सय ८७ जना संगठित सदस्य रहेको देखिन्छ। प्रदेशस्तरीय नेतृत्वदेखि प्रतिनिधिसभाका सांसदसम्मको बाक्लो राजनीतिक उपस्थिति रहेको इटहरीमा सदस्यता तथा सांगठनिक संरचनाको विस्तार अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको भन्दै पार्टीभित्रै प्रश्न उठ्न थालेको छ।


पार्टीले केही दिनअघि केन्द्रीय कार्यसमितिको बैठकमार्फत आगामी स्थानीय तह निर्वाचनलाई लक्षित कार्यक्रम सार्वजनिक गर्दै ‘हामी आउँदैछौँ’ अभियान घोषणा गरेको छ। अभियानअन्तर्गत केन्द्रीय तथा प्रदेश नेताका साथै निर्वाचित सांसदहरूलाई समेत कोशी प्रदेशका विभिन्न जिल्लामा संगठन विस्तारका लागि खटाइएको छ।


तर प्रदेश नेतृत्व र संघीय सांसदहरूको समेत राजनीतिक प्रभाव रहेको इटहरीमा पार्टीको सांगठनिक अवस्था भने अपेक्षाकृत बलियो बन्न नसकेको देखिन्छ।


संगठन विस्तारभन्दा ‘मेयरको टिकट’मा बढी चासो

रास्वपा इटहरीका केही नेता विभिन्न समूह बनाएर आफू केन्द्रका प्रभावशाली नेतासँग निकट रहेको तथा आगामी स्थानीय तह निर्वाचनमा आफूले मेयरको टिकट पाउने दाबी गर्दै वडा तथा टोलस्तरमा सक्रिय हुन थालेको सूचना पार्टीभित्रैबाट आएको छ।


संगठन विस्तार, सदस्यता वितरण तथा टोल–वडा तहमा पार्टी संरचना निर्माणमा केन्द्रित हुनुपर्ने समयमा विभिन्न समूह बनाएर ‘मेयरको टिकट पक्का’ भन्दै हिँड्ने प्रवृत्तिले संगठन निर्माणमा असर पारिरहेको केही कार्यकर्ताको दाबी छ।


उनीहरूका अनुसार संघीय निर्वाचनमा रास्वपाले प्राप्त गरेको जनमतलाई आधार बनाएर स्थानीय तहमा पनि सहजै जित हासिल गर्न सकिने बुझाइ केही नेतामा देखिएको छ। यही कारण संगठन विस्तार र जनतासँगको निरन्तर सम्पर्कभन्दा केन्द्रका प्रभावशाली नेतासँग सम्बन्ध स्थापित गरेर टिकट सुनिश्चित गर्ने गतिविधि बढेको उनीहरूको आरोप छ।


यस्तो प्रवृत्तिले पार्टीको आन्तरिक एकता र संगठन निर्माणमा असर पार्नुका साथै पछिल्लो समय रास्वपाप्रतिको आकर्षणसमेत क्रमशः घट्दै गएको उनीहरूको दाबी छ।


तर रास्वपा इटहरी उपमहानगरपालिकाका सभापति पुष्प थापा महेशले पार्टीभित्र विभिन्न समूह बनाएर टिकटको दाबी गर्दै हिँडेको विषयमा आफूहरूलाई औपचारिक जानकारी नभएको बताएका छन्।


उनका अनुसार कसले कुन समूह बनाएर हिँडेको छ भन्ने विषयमा नगर कार्यसमितिले सम्पूर्ण जानकारी राख्न नसक्ने अवस्था रहेको र त्यस्तो गतिविधिबारे नगर समितिलाई औपचारिक रूपमा जानकारीसमेत नआएको हो।


थापाले इटहरी उपमहानगरपालिकाको रास्वपा कार्यसमिति संगठन विस्तार र सदस्यता वितरणमा निरन्तर सक्रिय रहेको दाबी गरे।


‘एक हजार शुल्क भएपछि मजदुर–किसानलाई सदस्य बनाउन कठिन भयो’

नगर सभापति थापाले पछिल्लो समय सदस्यता संख्या अपेक्षाकृत कम देखिनुको प्रमुख कारण पार्टीले सदस्यता शुल्क बढाउनु रहेको बताएका छन्।


उनका अनुसार यसअघि इच्छाअनुसार न्यून रकम तिरेर पार्टीको सदस्य बन्न सकिने व्यवस्था थियो। तर पछिल्लो समय पार्टीले न्यूनतम १ हजार रुपैयाँ सदस्यता शुल्क तोकेपछि दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर तथा न्यून आय भएका किसानलाई पार्टी सदस्य बनाउन कठिन भएको उनको भनाइ छ।


थापाका अनुसार विगतमा इटहरीमा एकैपटक ४० देखि ५० जनासम्म नयाँ सदस्यता वितरण हुने गरेको थियो। अब भने पार्टीले नयाँ रणनीति बनाएर सदस्यता अभियानलाई टोल–टोलसम्म विस्तार गर्ने तयारी गरेको छ।


यद्यपि अहिलेको सदस्यता संख्या र संगठनको अवस्थाले मात्रै आगामी निर्वाचन जित्ने आधार तयार भइसकेको आफूहरूलाई नलागेको उनले स्वीकार गरे।


“अहिलेको संगठन विस्तार र सदस्यता वितरणबाट मात्रै चुनाव जितिन्छ भन्नेमा हामी विश्वस्त छैनौँ। यसलाई चुनौतीका रूपमा लिएर अझै मेहनत गर्नुपर्ने अवस्था छ।”

टोल र बुथसम्म कमिटी बनाउने तयारी

सुनसरीमा रास्वपाको संगठन विभाग प्रमुख योगेन्द्र गिरीले पार्टीको निर्देशनअनुसार जिल्लाका विभिन्न पालिकामा टोल तथा बुथ तहसम्म संगठन निर्माणको काम अघि बढाइएको बताएका छन्।


उनका अनुसार इटहरीसहित सुनसरीका सबै पालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै टोल–टोल र बुथ–बुथमा कमिटी निर्माण तथा सांगठनिक गतिविधिलाई तीव्रता दिइएको छ।


गिरीले संघीय निर्वाचनमा प्राप्त मतलाई मात्र आधार बनाएर संगठन विस्तारमा पर्याप्त ध्यान नदिए आगामी स्थानीय तह निर्वाचनमा पार्टीले चुनौती सामना गर्नुपर्ने स्वीकार गरेका छन्।


यसअघि उनले इटहरीमा सुनसरीका अन्य पालिकाको तुलनामा रास्वपाको संगठनात्मक अवस्था राम्रो रहेको र ४ हजार ५ सयभन्दा बढी सदस्य रहेको दाबी गरेका थिए।


‘क्वालिटीका सदस्य र योग्य उम्मेदवारमा पार्टीको जोड’

रास्वपा कोशी प्रदेशका महामन्त्री तथा इटहरी निवासी निरज कटुवालले संगठन विस्तार र पार्टी सदस्यता बढाउने काम निरन्तर चलिरहेको बताएका छन्।


पछिल्लो समय पार्टीले सदस्यता शुल्क १ हजार रुपैयाँ तोकेपछि केही व्यावहारिक समस्या देखिएको उनले स्वीकार गरे। तर सदस्य संख्या बढाउनेभन्दा पनि पार्टीले गुणस्तरीय र सक्रिय सदस्य निर्माणमा जोड दिएको उनको भनाइ छ।


कटुवालले आगामी स्थानीय तह निर्वाचनमा कोशी प्रदेशका धेरै स्थानमा रास्वपाले विजय हासिल गर्ने दाबी गरेका छन्।


उनका अनुसार उम्मेदवार छनोटमा पार्टीले अघि सारेको विधि र पद्धतिबाट कुनै पनि अवस्थामा विचलित नहुने नीति रास्वपाले लिएको छ।


“उम्मेदवार छनोटमा पार्टीले अघि सारेको विधि र पद्धतिभन्दा एक इन्च तलमाथि हुँदैन।”

उनले पार्टी स्थापनादेखि योगदान गर्दै आएका तथा योग्य व्यक्तिलाई नै उम्मेदवार बनाउने बताए। तर पार्टीले खोजेअनुसारको योग्य उम्मेदवार पार्टीभित्र उपलब्ध नभएको अवस्थामा जनताले रुचाएका र स्थानीय स्तरमा प्रभाव भएका अन्य दलका व्यक्तिलाई पार्टीमा ल्याएर उम्मेदवार बनाउन सकिने सम्भावनासमेत रहेको उनले बताए।


इटहरीसँग जोडिएका प्रदेश सभापति, महामन्त्री र चार सांसद

रास्वपा कोशी प्रदेशका सभापति चन्द्रबहादुर राई लामो समयदेखि इटहरीमा बस्दै व्यवसाय तथा राजनीतिमा सक्रिय छन्। उनको स्थायी गृहक्षेत्र मोरङको बेलबारी भए पनि लामो समयदेखि इटहरीमा रहेर रास्वपाको राजनीतिमा सक्रिय राई विराटचोकमा सम्पन्न रास्वपाको प्रथम कोशी सम्मेलनबाट प्रदेश सभापतिमा निर्वाचित भएका थिए।


त्यसैगरी इटहरी निवासी निरज कटुवाल रास्वपा कोशी प्रदेशका महामन्त्री हुन्।


इटहरीसँग प्रत्यक्ष रूपमा जोडिएका रास्वपाका प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फका प्रकाशचन्द्र परियार, सृष्टि भट्टराई, सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित अशोककुमार चौधरी तथा सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित लालविक्रम थापा रहेका छन्।


यस्तै प्रदेश सदस्य ईश्वर तामाङ, राधिका कार्की, सरिता लामा कार्कीलगायतका नेताहरू तथा प्रदेश सचिवालयमा रहेका सुनिल भुसाल पनि इटहरीसँग सम्बन्धित छन्।


प्रदेशस्तरीय नेतृत्व र संघीय सांसदसहित यति धेरै प्रभावशाली नेताको प्रत्यक्ष सम्बन्ध रहेको इटहरीमा संगठित सदस्यको संख्या ४ हजार ५ सय ८७ मा सीमित रहनुले पार्टीको संगठन विस्तारको प्रभावकारितामाथि प्रश्न उठेको हो।


‘घण्टीमै मत आउँछ भन्ने सोच भ्रम हुन सक्छ’

राजनीतिक विश्लेषक मोहन तिम्सिनाले संघीय निर्वाचनमा रास्वपाले प्राप्त गरेको मतलाई आधार बनाएर स्थानीय तह निर्वाचनमा पनि त्यही परिणाम दोहोरिने अपेक्षा गर्नु गलत हुन सक्ने बताएका छन्।


उनका अनुसार स्थानीय तह निर्वाचनमा मतदाताले आफूले नजिकबाट चिनेका, स्थानीय भूगोल बुझेका र स्थानीय समस्या तथा आवश्यकतासँग प्रत्यक्ष रूपमा जोडिएका उम्मेदवारलाई प्राथमिकता दिने गरेका छन्।


“स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्नभन्दा उम्मेदवारको अनुहार र स्थानीय प्रभाव महत्वपूर्ण हुन्छ। संघीय निर्वाचनमा घण्टीमा मत आएको आधारमा स्थानीय तहमा पनि स्वतः घण्टीमै मत आउँछ भन्नु भ्रम हुन सक्छ।”

तिम्सिनाका अनुसार पछिल्लो समय रास्वपाप्रतिको आकर्षणमा समेत केही कमी आएको देखिन्छ। संघीय निर्वाचनमा रास्वपाको पक्षमा बनेको जनमतमा पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाहको व्यक्तिगत लोकप्रियताको समेत प्रभाव रहेको उनको विश्लेषण छ।


रास्वपाभित्र स्पष्ट वैचारिक आधार कमजोर रहेको तथा पछिल्लो समय गुटगत गतिविधि र आन्तरिक विवादसमेत देखिन थालेको उनको दाबी छ।


‘अहिले जित्ने आधार बनेको छैन, निर्वाचनसम्म बनाउनुपर्छ’

रास्वपा इटहरी उपमहानगरपालिकाका संगठन विभाग प्रमुख गणेश धितालले वर्तमान अवस्थामा इटहरीमा पार्टीले स्थानीय तह निर्वाचन जित्ने पर्याप्त आधार तयार भइनसकेको स्वीकार गरेका छन्।


तर निर्वाचन नजिकिँदै जाँदा संगठन विस्तार र सदस्यता वृद्धिलाई तीव्रता दिएर इटहरीसहित सुनसरीका अधिकांश क्षेत्रमा जितको आधार तयार गर्न सकिने उनको दाबी छ।


धितालले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा महिला नेतृत्वलाई समेत प्राथमिकता दिनुपर्ने बताएका छन्।


उनका अनुसार इटहरीका कम्तीमा पाँचदेखि सात वटा वडामा सक्षम महिलालाई उम्मेदवारका रूपमा अघि सार्न सके त्यसले देशभर नयाँ सन्देश दिनुका साथै पार्टीलाई स्थानीय तहमा थप बलियो बनाउन सहयोग पुग्नेछ।


मेयर र उपमेयरका उम्मेदवार छनोट गर्दा स्थानीय तहको कार्यप्रणाली बुझेका, राजनीति र स्थानीय भूगोल बुझेका तथा जनताका समस्या पहिचान गर्न सक्ने योग्य युवालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।


संघीय मतलाई स्थानीय संगठनमा रूपान्तरण गर्ने चुनौती

रास्वपाले संघीय निर्वाचनमा प्राप्त गरेको उल्लेख्य जनमतलाई स्थानीय तहसम्म संगठनका रूपमा रूपान्तरण गर्नु इटहरीमा पार्टीका लागि प्रमुख चुनौती देखिएको छ।


एकातर्फ पार्टीले टोल र बुथ तहसम्म संगठन विस्तार गर्ने अभियान अघि बढाएको छ। अर्कोतर्फ सदस्यता शुल्क वृद्धि, स्थानीय नेतृत्वबीचको प्रतिस्पर्धा, उम्मेदवारीको आकांक्षा तथा आन्तरिक समूहगत गतिविधिजस्ता विषयले सांगठनिक अभियानलाई प्रभावित गर्न सक्ने चिन्ता कार्यकर्ताहरूले व्यक्त गरेका छन्।


संघीय निर्वाचनमा प्राप्त मतलाई स्थानीय तहको चुनावी सफलताको सुनिश्चित आधारका रूपमा लिनु पार्टीका लागि जोखिमपूर्ण हुन सक्ने राजनीतिक विश्लेषकहरूको तर्क छ। स्थानीय तहमा मतदातासँग प्रत्यक्ष सम्बन्ध, उम्मेदवारको व्यक्तिगत विश्वसनीयता, स्थानीय मुद्दाको बुझाइ र वडा तथा टोल तहसम्मको संगठन बढी निर्णायक बन्न सक्छ।


त्यसैले रास्वपाका लागि इटहरीमा अबको मुख्य चुनौती संघीय निर्वाचनको जनमतमा मात्र निर्भर रहने नभई त्यसलाई वडा, टोल र बुथ तहसम्मको सांगठनिक शक्तिमा रूपान्तरण गर्नु हो।


यसका लागि सक्रिय सदस्यको संख्या बढाउने, स्थानीय नेतृत्व विकास गर्ने, सम्भावित उम्मेदवारलाई समयमै जनतामाझ स्थापित गर्ने तथा स्थानीय समस्या र जनजीविकाका सवालमा निरन्तर काम गर्ने रणनीति आवश्यक देखिन्छ।


आगामी स्थानीय तह निर्वाचनमा पार्टीको चुनाव चिह्नसँगै उम्मेदवारको व्यक्तिगत विश्वसनीयता, स्थानीय उपस्थिति र संगठनको क्षमताले निर्णायक भूमिका खेल्ने भएकाले इटहरीमा रास्वपाले आगामी समय कसरी संगठन परिचालन गर्छ भन्ने विषयले उसको चुनावी सम्भावनालाई प्रत्यक्ष रूपमा प्रभावित गर्ने देखिन्छ।


अहिलेको अवस्थामा रास्वपा इटहरीमा संघीय निर्वाचनको जनमतलाई स्थानीय संगठन र चुनावी जितमा रूपान्तरण गर्ने संक्रमणकालीन चरणमा रहेको देखिन्छ। पार्टी नेतृत्वले संगठन विस्तारलाई प्राथमिकता दिने कि टिकटको आकांक्षाबीचको आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थापन गर्न बढी ऊर्जा खर्च गर्ने भन्ने विषयले आगामी दिनमा इटहरीमा रास्वपाको राजनीतिक दिशा निर्धारण गर्नेछ।