तेह्रथुमः आँखा रोगीलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरबाट ४ सय १० जनाले सेवा लिएका छन् । शिविरबाट २ सय १२ महिला र १ सय ९८ पुरुष आँखा रोगीले लाभ लिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी तेह्रथुम र आँखा उपचार केन्द्र तेह्रथुमको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको बताइएको छ । पुस ८, ९ र १० गते भएको शिविरमा ४४ जनाको आँखाको शल्यक्रिया भएको छ । त्यसमध्ये ३६ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको र बाँकी ८ जनाको आँखामा मासु पलाएको रोगको शल्यक्रिया भएको आँखा उपचार केन्द्र तेह्रथुमका देवेन्द्र शाहले बताए ।

शिविरमा आँखा अस्पताल विराटनगरका डाक्टर मनिष पाण्डे नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच, परामर्श, औषधि वितरण, चस्मा वितरण तथा शल्यक्रिया गरेको थियो । गाउँपालिका क्षेत्रमा अधिकांशको आँखामा मोतिबिन्दुको समस्या देखिएको डाक्टरको भनाइ छ ।