विराटनगरः समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मङ्गलबार जिल्ला प्रहरी कार्यालय मोरङले बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर प्रज्मी श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी कार्यालय सहयोगी मनिता पौडेलको स्वास्थ्य परीक्षण गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
शिविर जिल्ला प्रहरी कार्यालय मोरङ, रामलालजी गोल्छा धापीदेवी च्यारिटी ट्रष्ट तथा नोबेल मेडिलक कलेज शिक्षण अस्पताल विराटनगरको संयुक्त आयोजनामा भएको बताइएको छ ।
शिविरमा स्त्री रोग, जनरल मेडिसिन, हाडजोर्नी तथा नशा, बालरोग, आँखा, नाक, कान, घाँटी, दन्त रोग, मानसिक रोग लगायतका रोगहरूको चेकजाँचको लागि विशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहेको थियो । सो शिविरमा भिडियो एक्स रे, ल्याब टेष्टको समेत प्रबन्ध मिलाइएको थियो भने स्वास्थ्य परीक्षण पश्चात आवश्यक औषधीहरू समेत निःशुल्क वितरण गरिएको थियो ।
शिविर सञ्चालनमा नोबेल मेडिलक कलेज विराटनगरले २६ जना दक्ष डाक्टर उपलब्ध गराएको थियो । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जिल्ला प्रहरी कार्याय मोरङको हाताभित्र सञ्चालन भएको शिविरबाट मोरङ जिल्लामा कार्यरत प्रहरी कर्मचारी तथा प्रहरीका आश्रित परिवार गरी ४ सय १७ जनाले स्वास्थ्य सेवा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।