इटहरीः राष्ट्रिय अर्थतन्त्र सुधार र समाजवादको आधारशिला तयार गर्न स्थानीय कृषि उपज सँगसँगै स्थानीय स्रोतको प्रयोग भरपुर गर्नुपर्ने कृषि राज्यमन्त्री रामकुमारी चौधरीले बताइन् । इटहरीको जनता माध्यमिक विद्यालयमा बिहीबार शुरु भएको खाद्य मेलाको उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले स्थानीय स्रोतको उपयोग गर्न जोड दिएकी थिइन् ।

स्थानीय स्रोतको प्रयोगले राष्ट्रिय पूँजी निर्माणमा ठूलो योगदान दिने भएकाले स्थानीय कृषि उपजसँगै स्थानीय स्तरमा उपलब्ध स्रोतको भरपुर उपभोग गर्नुपर्ने उनले बताइन् ।

‘स्थानीय परिकार र स्थानीय उत्पादनलाई बजारीकरण गर्न सकेमा ग्रामीण भेगका जनताहरूमा आर्थिक रूपमा समुन्नत हुन समय लाग्दैन’, चौधरीले भनिन्, ‘यो कार्यक्रममा पनि स्थानीय स्रोतको उपयोग गरिएका परिकार र सामान उल्लेखनीय रूपमा देखेँ । यसले पनि स्थानीय वस्तुको बजारीकरण गर्न सहयोग गर्ने छ ।’

खाद्यमेलामा राखिएका स्टलहरू अवलोकन गर्ने क्रममा हिमाली मौरीको मह र जुम्लाको स्याउ देखेर उनी खुशी भएकी थिइन् । देशको एक कुनाको स्थानीय सामग्री अर्काे कुनामा आएर बिक्री भएको देख्दा खुशी लाग्यो’, चौधरीले भनिन्, ‘यसरी नै आफ्नै उत्पादनको बजारीकरण गर्न सके हामी चाँडै समृद्धिको बाटोमा हिँड्ने थियौँ ।’

शुक्रबार इटहरीको जनता माविको खेल मैदानमा शुरु भएको खाद्य मेला ३ दिनसम्म लाग्ने छ । खाद्य प्रविधि तथा गुणा नियन्त्रण कार्यालय विराटनगरले गरेको सो मेलामा ६५ वटा स्टल रहेका छन् । विभिन्न जातजातिका स्थानीय परिकारसँगै स्थानीय उपजको प्रवद्र्धन गर्न मेला आयोजना गरेको खाद्य नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए ।

उद्योग वाणिज्य सङ्घ इटहरी र घरेलु तथा साना उद्योग महासङ्घ सुनसरी सहआयोजक रहेको सो मेलामा इटहरी उपमहानगरपालिका र होटल व्यवसायी सङ्घ इटहरीले सहयोग गरेको छ ।