धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रेडियोलोजी विभागका अरुण गुप्ताले विश्वकै उत्कृष्ट विश्वविद्यालय सिओल नेशनल युनिभर्सिटी, कोरियाबाट न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विषयमा विद्यावारिधी गरेका छन् ।

उनी यस विषयमा विद्यावारिधी गर्ने नेपालमै पहिलो व्यक्ति भएका छन् । यो महत्वपूर्ण विषयमा पिएचडी गर्ने पहिलो नेपाली हुन पाएकोमा आफूलाई निकै गर्व महसुस भएको उनले बताए । उनको यो योग्यताबाट मुख्यतः क्यान्सर परीक्षण र उपचारमा महत्वपूर्ण सहयोग पुग्ने भएकाले नेपालमा पनि अब क्यान्सर रोगको उपचारमा सहजता आउने देखिएको छ ।

देशको सेवा गर्न विदेशमै बसिनँः गुप्ता

विद्यावारिधी गरेपछि विदेशमा थुप्रै अवसर आएको र कोरियामा बस्ने साथीले नेपाल गयो भने मानसिक तनाव मात्र हुन्छ भने तापनि आफ्नो देश र प्रतिष्ठानको सेवा गर्ने सपना र उद्देश्यका साथ आफू प्रतिष्ठानमा काम गर्न आएको उनले बताएका छन् । देश र प्रतिष्ठानको सेवा गर्ने उच्च मनोभावनाका साथ प्रतिष्ठान आएको भए पनि हालसम्म प्रतिष्ठान व्यवस्थापनले काम गर्ने वातावरण सिर्जना नगरेकोप्रति गुनासो र असन्तुष्टि पनि पोखेका छन् ।

कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले विशेषज्ञता शिक्षा हासिल गरेका दक्ष जनशक्तिलाई प्रतिष्ठानले पाउनु गर्व र खुशीको कुरा भएकाले व्यवस्थापनले स–सम्मान काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।