काठमाडौँः चिसो मौसममा रुघाखोकी, टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली उत्पादन ‘सन्चो’ बजारमा परिचित जडीबुटीजन्य उत्पादन हो । सन्चोको माग चौतर्फी राम्रो रहे पनि उत्पादन गर्ने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अहिले श्रमिकको सेवा–सुविधासम्बन्धी विवादको चपेटामा छ ।
श्रम अदालतको फैसला कार्यान्वयन, सामाजिक सुरक्षा, चाडपर्व भत्तालगायत सेवा–सुविधाको माग गर्दै मासिक ज्यालादारी श्रमिक आन्दोलनमा उत्रिएपछि असोज ५ गतेदेखि सन्चोको उत्पादन ठप्प भएको हो ।
एकातिर २०८१ चैत १५ गते भएको तत्कालीन राजाबादी आन्दोलनका कारण आगलागीबाट क्षतिग्रस्त संरचना र मेसिन पूर्ण रूपमा पुनःस्थापना भइनसकेको अवस्था छ । अर्कोतिर उत्पादनको मुख्य आधार मानिने श्रमिक नै सेवा–सुविधाको माग लिएर धर्नामा बसेपछि कम्पनीले उत्पादन निरन्तरताको अर्को चुनौती सामना गर्नुपरेको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जडीबुटी तथा सुगन्धित वनस्पतिको उत्पादन, सङ्कलन र प्रशोधन गरी विभिन्न वस्तु बजारमा पठाउँदैआएको छ । सन्चोसहित सन्चो बाम, हिमालयन मसाज आयल, जटा केश तेल, शिलाजितलगायत उत्पादन कम्पनीका प्रमुख उत्पादनमा पर्छन् । सन्चो कम्पनीको सबैभन्दा चिनिएको उत्पादनमध्ये यो एक हो ।
फैसला कार्यान्वयनमा विवाद
आन्दोलनरत श्रमिक सजना नेपालका अनुसार अहिलेको विवाद एकाएक सिर्जना भएको होइन । सेवा–सुविधाको विषयमा लामो समयदेखि कम्पनी व्यवस्थापनसँग छलफल तथा पत्राचार हुँदैआएको र अन्ततः श्रम कार्यालय तथा श्रम अदालतसम्म पुगेको बताइन् ।
श्रमिकले पाउनुपर्ने सेवा–सुविधाको विषयमा श्रम तथा रोजगार कार्यालयमा उजुरी गरेपछि २०८० जेठ ४ गते श्रमिकको पक्षमा निर्णय भएको थियो । त्यसविरुद्ध व्यवस्थापन श्रम अदालत पुगेको र श्रम अदालतले पनि २०८१ जेठमा श्रमिककै पक्षमा फैसला गरेको नेपालको भनाइ छ ।




















