बेलबारीः बेलबारी नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको छ । एक वर्षमा डेढ दर्जनभन्दा बढी स्वास्थ्य शिविर गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका बस्तीमा नै पुगेर नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । महिला, बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना नगरले गर्ने गरेको छ । । खर्च अभाव भएर तथा उपचार नपाई कोही पनि बिरामी भएर ओछ्यानमा थला पर्न नदिने गरी नगरपालिकाले स्वस्थ्य शिविरको आयोजना गरेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

स्वास्थ्यलाई पहिलो प्राथमिकता
बेलबारी नगरपालिकाले अपाङ्गहरूलाई लक्षित गरेर एक दिने स्वास्थ्य शिविर आयोजना गरेको छ । सिबिआर अस्पताल विराटनगरको प्राविधिक सहयोगमा गरिएको सो शिविरमा डेढ सयभन्दा बढी अपाङ्ग बिरामीहरूको उपचार गरिएको बताइएको छ । खर्च अभाव तथा विभिन्न समस्याले अस्पताल जान नसकेकाहरूका लागि नगरपालिकाले आयोजना गरेको शिविरले अपाङ्गहरूलाई राहत मिलेको छ ।

नगरपालिकाले ज्येष्ठ नागरिक, बालबालिका, महिलालक्षित शिविर आयोजना गर्नुका साथै कुष्ठरोग, कुपोषणजस्ता रोगको पहिचान गर्नका लागि पनि शिविर आयोजना गरिएको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताए ।

sibir

ज्येष्ठ नागरिकलाई लक्षित गरेर नगरपालिकाले ज्येष्ठ नागरिक भवनमा नै स्वास्थ्य परीक्षण गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सन्तोष बिश्वकर्माले बताए । ज्येष्ठ नागरिकको सुगर, प्रेसरदेखि ईसीजीसहितको स्वास्थ्य परीक्षण गरिएको उनले बताए । एक वर्षमा १ हजार भन्दा बढी बिरामीको उपचार गरिएको नगरपालिकाले जनाएको छ ।

कुष्ठरोगको समेत उच्च जोखिममा बेलबारी रहेको पाइएको छ । बेलबारीमा एक दर्जन जति कुष्ठरोगी भेटिएका छन् ।
नगरपालिकाले गाँउगाँउमा गएर कुष्ठरोगीको खोजी गरेर उनीहरूको उपचार गरेको छ । बालबालिका तथा महिलाहरूका लागि छुट्टै शिविर आयोजना गरिएको थियो ।

५ प्रकृतिका बिरामीलाई २५ हजार सहयोग
स्थानीय तहमा नगरपालिकाले नगरबासीको स्वास्थ्यमा चासो देखाउन थालेको छ । नगरपालिकाले ५ प्रकारका रोगका बिरामीहरूलाई उपचारका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेसँगै विभिन्न स्वास्थ्य शिविरसमेत सञ्चालन गर्न थालेको छ ।

नगर कार्यपालिकाको बैठकबाट क्यान्सर, मुटु, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनलकड इन्जुरी लगायतका रोग लागेका बिरामीहरूलाई सहयोग गर्ने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । अहिलेसम्म १ सय जनाभन्दा भन्दा बढीले उपचारको सहयोग रकम लगिसकेको नगरपालिकाले जनाएको छ ।