सङ्खुवासभाः जिल्ला अस्पताल खाँदबारीमा सेवा सुविधा नभएको भनी बेलाबेलामा चर्चामा आउने गरेको छ । अस्पतालभित्रको आन्तरिक मुठभेडको कारणले अस्पतालमा बेलाबेलामा द्वन्द्व बढेका समाचार पनि प्रशस्तै आएका हुन् ।
तर सेवाग्राहीका यस्ता विविध गुनासा हुँदाहँुदै पनि अस्पतालले नमुना काम गरेको देखाउन सफल भएको छ । त्यसैको उदाहरण हुन् मकालु गाउँपालिका नुमकी सृष्टि राई ।
मकालु गाउँपालिका–५ पाथीभरा उम्लिङकी सृष्टि राई सामान्य पेट दुखेपछि जिल्ला अस्पताल खाँदबारी आइन् । अस्पताल आएको केही बेरपछि उनलाई असाध्यै पेट दुख्न शुरु भयो । चिकित्सकले भिडियो एक्सरे गरे । त्यसपछि थाहा भयो उनको पाठेघर बाहिर गर्भ बसेको छ भन्ने । आन्तरिक रक्तस्राव शुरु भइसकेको थियो । चिकित्सकले पनि उनलाई थप उपचार गर्न रिफर गरे । तर, सडक मार्ग वर्षातले हिलाम्मे भएकाले उनको शल्यक्रिया गर्न सुविधा सम्पन्न अस्पतालमा पठाउन समस्या भयो । हवाइजहाजबाट पठाउन पनि टिकट मिलेन ।
त्यसपछि जिल्ला स्वास्थ्य प्रमुख डा. लक्ष्मण खड्का, डा युवराज बस्नेत, डा सिर्जना पाण्डेय लगायतको चिकित्सकको टोली अन्योलमा प¥यो । शल्यक्रियापछि राईलाई आइसियुमा राख्नुपर्ने स्थिति आउन सक्थ्यो । जुन सुविधा खाँदबारीमा थिएन । हिलाम्मे सडकका कारण यात्रा सहज नहुने भएकाले बाहिर रिफर गर्दा बीचमै ज्यान गुमाउने सम्भावना पनि त्यत्तिकै थियो ।
मौसम र टिकट अभावका कारण जहाजमा पनि पठाउने सम्भावना थिएन । ‘व्यथाले राईलाई झन् च्यापिसकेको थियो,’ उपचारमा संलग्न डा. युवराज बस्नेतले भने, ‘सडक मार्ग र जहाजबाट लैजान नसक्ने भएपछि हामीले यहीँ शल्यक्रिया गर्ने आँट ग¥यौँ ।’ पाठेघर बाहिर गर्भ बसेको फुटेपछि शल्यक्रिया गराउने सृष्टि नै पहिलो भएको उनले बताए ।
झण्डै साढे २ घण्टा लामो प्रयासपछि राईको शल्यक्रिया सफल भयो । राईको पाठेघर बाहिर करिब ७ हप्ताको गर्भ फुटेको थियो, स्वास्थ्य प्रमुख डा. खड्काले भने, ‘ठूलो रिक्स मोलेर मङ्गलबार शल्यक्रिया भयो । उनको पाठेघरमा ३ लिटर रगत जमिसकेको थियो । भित्रभित्रै आन्तरिक रक्तस्राव भएको थियो । पर्याप्त उपकरण नहुँदा शुरुमा हामीले ‘रिक्स’ मोल्न चाहेनाँै । पछि सबैको सल्लाहअनुसार यहीँ शल्यक्रिया गरेर आमालाई बचायौँ । उनको निःशुल्क शल्यक्रिया भयो ।’
शल्यक्रियापछि उनलाई ३ पिन्ट रगत दिइएको छ । बिहान ८ बजे पेट दुख्न थालेपछि उनका श्रीमान् उत्तमकुमारले अस्पताल ल्याएका थिए । उनको दिउँसो ४ बजे शल्यक्रिया भएको थियो । ‘सृष्टिलाई गर्भ बसेको समेत पत्तो थिएन । अस्पतालमा डाक्टरले पाठेघर बाहिर बसेको गर्भ फुटेको जानकारी दिएपछि छक्क परेँ । अस्पताल आउनुअघि नै फुटिसकेको रहेछ,’ उत्तमले भने, ‘बाहिर उपचार गर्न लैजान समस्या थियो । माया मारिसकेको थिएँ । चिकित्सक मेरा लागि भगवान् बने ।
उत्तमका अनुसार एम्बुलेन्स ल्याएर ठूला अस्पताल लैजान सृष्टिलाई एम्बुलेन्सभित्र राख्न खोज्दा ढलिन् । त्यसपछि जोखिम मोलेर भए पनि शल्यक्रिया गरिदिन आग्रह गरेको उनले सुनाए । जिल्लामै जटिल प्रकृतिका शल्यक्रिया हुँदा पैसा पनि बचेको उनले बताए । ‘ऋण खोजेर भए पनि उपचार गर्न बाहिर लैजानुपर्ने थियो,’ उनले भने, ‘निःशुल्क उपचार भयो, धेरै खुशी छु ।’ श्रीमतीले नयाँ जीवन पाएको उनले बताए । शल्यक्रिया पछि बिरामीको अवस्था सामान्य हुँदै गएको अस्पतालले जनाएको छ ।
बुधबार पनि चिचिला गाउँपालिका–२ की २६ वर्षीया पासाङ शेर्पाको पनि सोही प्रकृतिको सफल शल्यक्रिया गरिएको छ । उनको पनि पाठेघर बाहिर गर्भ बसेको थियो । उनको पाठेघरमा राईको भन्दा बढी रगत जमिसकेको थियो । डिस्चार्ज भएर जाँदा सृष्टि र पासाङलाई यातायात खर्चबापतको रकम पनि अस्पतालले उपलब्ध गराउने भएको छ ।