झापाः झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा सञ्चालित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आ. व. ०७४÷०७५ मा ८ लाख १२ हजार ३ सय ३२ रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा झण्डै चार गुणा बढी नाफा गर्न संस्था सफल भएको हो । अघिल्लो वर्ष करपछिको नाफा २ लाख ३१ हजार दुई रुपैयाँ थियो । यस वर्ष संस्थाले २ लाखभन्दा बढी कर बुझाएको जनाएको छ । संस्थाको करअघिको सञ्चालन नाफा १० लाख १५ हजार ४ सय १४ रुपैयाँ रहेको छ ।

बिर्तामोडमा सम्पन्न छैटौं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको शेयरपूँजी १ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ । सो वर्ष संस्थाले ५ करोड ८२ लाख ३८ हजार ५ सय १५ रुपैयाँ निक्षेप सङ्कलन गरेको जनाएको । ७ करोड ५६ लाख ४८ हजार १ सय ७७ रुपैयाँ ऋण लगानी गरेको संस्थाले जनाएको छ ।

सहकारीको माध्यमबाट शिक्षा क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापित सो संस्था अघिल्लो वर्ष मात्र बहुउद्देश्यीय सहकारीमा रूपान्तरित भएको थियो । संस्थाले आगामी शैक्षिक सत्रदेखि सानो तहमा भए पनि शिक्षालय सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष न्यौपानेले बताए ।

‘शिक्षालय सञ्चालनकै लागि भनेर संस्थाले केही जग्गा खरिद गरेको छ भने केही जग्गा दानमा प्राप्त गरेको छ’, उनले भने, ‘शिक्षालय सञ्चालन संस्थाको प्रमुख उद्देश्य नै हो, विविध कारणले केही ढिलो भएको मात्र हो ।’ संस्थामा हाल २ हजार ४३ सदस्य रहेका छन् ।

siksha sahakari  (2)