झापाः बर्खाका कारण कोइला र पेट्रोलियम पदार्थको आयातमा कमी भएसँगै मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा प्रभाव परेको छ । चालु आर्थिक वर्ष २०७५/२०७६ को शुरुवाती पहिलो २ महिनामा कार्यालयले मासिक राजस्व असुलीको लक्ष्य पूरा गर्न सकेको छैन ।

कार्यालयका अनुसार साउन महिनामा ८९ करोड ७८ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि कार्यालयले लक्ष्यको तुलनामा ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो । सो अवधिमा ७५ करोड ९५ लाख ८८ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो । भन्सार अधिकारीका अनुसार सङ्कलित रकम गतवर्षको सोही अवधिको तुलनामा १९ करोड ८९ लाख १० हजार ६८ रुपैयाँ अर्थात् ३५ प्रतिशत बढी हो ।

यसैगरी, भदौ महिनामा कार्यालयले लक्ष्यभन्दा कम ९२ प्रतिशत अर्थात् ९४ करोड ७२ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने राजस्व बढी सङ्कलन भएको हो । कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा ३२ प्रतिशत बढी राजस्व चालु आर्थिक वर्षको २ महिनामा सङ्कलन भएको छ । भदौ महिनाको लागि भन्सार विभागले कार्यालयलाई १ अर्ब २६ करोड ८८ हजार रुपैयाँ रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

कार्यालयले चालु आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक कुल लक्ष्य १२ अर्ब ८२ करोड ६१ लाख ५ हजार रुपैयाँमध्ये २ महिनामा १३ प्रतिशतमात्र राजस्व संकलन गरेको छ ।

राजस्व बढी सङ्कलन हुने वस्तुको कम आयात
मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्वको मुख्य हिस्सा ओगटेको पेट्रोलियम पदार्थको आयातमा कमी आएपछि राजस्व असुलीमा स्वतः गिरावट आउने भन्सार अधिकारीको भनाइ छ । । कुल राजस्वको ४० प्रतिशत पेट्रोलियम पदार्थले ओगटेको छ । त्यसपछि कोइलाले राजस्व धानेको छ । बर्खासँगै यी दुवै मुख्य वस्तुको आयातमा ओरालो लागेपछि कार्यालयले लक्ष्य पूरा गर्न नसकेको हो ।

बङ्गलादेशबाट आयातीत पेयपदार्थ, खाद्य वस्तुलगायतले कुल राजस्वको ४० प्रतिशत र बाँकी २० प्रतिशत अन्य वस्तुले ओगटेको भन्सार अधिकारीहरू बताउँछन् । पछिल्लो समय राजस्व सङ्कलन नहुनुको मुख्य कारण पेट्रोलियम पदार्थ र कोइला आयातमा कमी हुनु नै भएको भन्सार अधिकारीको भनाइ छ ।

के आउँछ, के जान्छ ?
यो नाका हुँदै खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङकर, हवाइ स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रङ्गीन टेलिभिजन आयात हुने गर्छ ।

ग्लेज टायल, लुब्रिकेटिङ आयल मोबिल, मोटरका ब्याट्री प्लाष्टिकका प्याक गर्ने ट्युबलगायतका विभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट आयात हुन्छ ।

त्यस्तै, मुसुरोको दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचना, अदुवा, सुठो, सुँगुर, बेतताड, प्लाइउड, क्राफ्ट पेपर, लगायतका वस्तु नेपालबाट भारत तथा समुद्रपार निकासी हुने गरेका छन् ।

mechi bhansar (2)