धरानः संविधान दिवसको अवसरमा धरानमा धरान उपमहानगरपालिकाको नेतृत्वमा प्रभातफेरी निकालिएको छ ।

बिहान ७ बजे उपमहानरपालिकाको मुख्य प्रवेशद्वारबाट शुरु भएको प्रभातफेरी, छाताचोक हुँदै भानुचोक स्थित लोकतान्त्रिक चौतारीमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई धरान उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीले सम्बोधन गरेकी थिइन् । संविधानमा सबैको हक अधिकार समेटिएकाले सबैले आत्मसात गरेर अगाडि बढ्नुपर्ने उनले बताइन् । उनले कानुनहरू बन्ने क्रममा रहेकाले सबैको हक अधिकार स्थापित हुने बताइन् । सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएकोमा खुशी व्यक्त गर्दै सबैले राष्ट्रिय दिवसको रूपमा मनाउनुपर्नेमा उनले जोड दिइन् ।

प्रभातफेरीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, शिक्षक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । प्रभातफेरीका सहभागीले ‘सबैको चाहना, संविधानको पालना’, ‘संविधानप्रदत्त मौलिक हकको सम्मान गरौं, पालना गरौं’ संविधान र कानुनको पालना गरौ’ लेखिएका प्ले कार्ड बोकेका थिए ।

बिर्तामोडमा पनि प्रभातफेरी
बिर्तामोडमा पनि विभिन्न सङ्घ संस्थाको आयोजनामा प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा सरकारी तथा गैर सरकारी सङ्घ संस्था तथा धार्मिक सङ्घ संस्थाको पनि सहभागिता थियो ।

12 1