बेलबारीः प्रदेश नम्बर १ का गृह तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले प्रदेशको विकास गर्न निर्माण कम्पनी सरकारले नै बनाउने बताएका छन् ।

मोरङको बेलबारीस्थित लालभित्तीमा रहेको रमिते सामुदायिक बन उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रदेश नम्बर १ मा रहेका नगरपालिका तथा गाउँपालिकालाई छनोट गरी ५ करोड बराबरको परियोजना सञ्चालन गर्न दिइने पनि उनले बताएका छन् ।

विकासका लागि आएको रकममा मन्त्री, सांसद, सचिव तथा अन्य कर्मचारीले नै निर्माण कम्पनीका ठेकेदारसँग कमिसन लिने गरेकाले समयमै काम नसकिएको उनले बताए ।

अनुशासित र इमान्दार हामी आफँै नभएकै कारण देशमा ढिलासुस्ती भएको भन्दै मन्त्री कार्कीले काम नगर्ने जो कोहीलाई कार्वाही गरी छाड्ने जनाए । उनले जुनसुकै पार्टीका भए पनि काम नगर्ने ठेकेदारलाई कार्वाही गर्ने बताए ।

प्रदेश सरकारले गरेका कामको व्याख्या गर्दै उनले प्रदेश सरकारले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि काम अगाडि बढाएको बताए । त्यस्तै, अन्तार्राष्ट्रिय स्तरको जातीय सङ्ग्रहालय पथरीशनिश्चरेमा बनाउन योजना अघि बढाइएको पनि उनले बताए । उनले रमितेमा बन्न थालेको सुरुङ मार्गसहितको भ्यु टावरका लागि पैसा अभाव हुन नदिने समेत प्रतिबद्धता जनाए ।