भीरफूलशोभा

कलाको सौरभ सीमातीत हुन्छ । प्रातिभ प्रकाशको गति र तेज अद्वितीय हुन्छ । भौतिक शरीर जीवनका निम्ति सजिलो माध्यम बन्न सक्ला तर कलाको विस्तारमा शरीरभन्दा बढी मुटुको महत्व रहन्छ । मस्तिष्कले वस्तुवादी विज्ञानसँग साइनो गाँसेको हुन्छ भने कला चाहिँ मुटुको सूष्म स्पर्शमा ब्युँझन्छ । कलाका पारखीहरू त्यसैले पनि मन–मुटुका आँखाले दुनियाँ हेर्दछन् । गोलो पृथ्वीमा कलमको खेती गर्ने मनकारी मान्छेहरूको कमी त छैन तर हतियार जति हिंसक भयो उत्ति नै बढी व्यापकता पाउने आजको परिवेशमा साहित्य, संस्कृति र कलाका पारखीहरूको अवस्था चाहिँ त्यत्ति भरपर्दो बनिहालेको छैन । हाम्रो जस्तो भोक, रोग र गरिबीसँग जुधेर समाज, संस्कृति र राजनीति समेत थाक्न लागेको अवस्थामा प्रतिकूल परिस्थितिका बीच पनि प्रभावकारी कला सृजनाको बातावरण नपाउनु प्रतिभाहरूको वर्तमान हो भन्न सकिन्छ । जे भएपनि सृजना, कवि माधव घिमिरेले भनेजस्तै चट्टान फोरेर उम्रिने पीपलु त हो ।
यस्तै एकान्त, सीमान्त पीपलुहरूको लहरमा हुर्केको चट्टानी प्रतिभाको रूपमा लिन सकिन्छ नवसृजनाकी धनी प्रतिभा सरगम उपनामकी लक्ष्मी राईलाई । भीर–कुसुम बनेर ०४६ असोजमा सुनसरी, धरान –५ गैरीगाँउमा जन्मिएकी भिन्न क्षमताकी धनी लक्ष्मीको पहिलो कृतिका रूपमा ०६९ मा छापिएको लक्ष्मीका कविता, गीत र गजलको सुन्दर सँगालो हो, एकान्तमा सुवास । खुट्टाले लेख्नसक्नुलाई सामान्य मानिएला, तर झमकपथको निरन्तरतामा भेटिने सरगमहरूको सिर्जनसामथ्र्य असामान्य छ, हाम्रो समाज तिनलाई देख्दैन सायद । हो, हामी हेरौं न त लक्ष्मी राई सरगमहरूको साहित्यिक संसारका रङ्ग !

सरगमः सृजनाका इन्द्रेणीमा
उसो त जीवनका उत्साहपूर्ण युवा उमेरकी लक्ष्मीसँग बैंसका वसन्तहरू आँखा ओछ्याएर नूतन पे्रमको फागु खेल्न पर्खिरहेकै छन् । यहाँ जे छ त्यो देखिदैन र जे छैन त्यो चाँहि सर्वत्र देखिन्छ । हाम्रा शक्तिशाली हातहरू तब बेअर्थका लाग्छन् जब झमक घिमिरे र लक्ष्मी राईहरूले तिनलाई नै अतिरिक्त मानेर खुट्टाले च्यापेका कलमले दुनियाँलाई मुटुका मुटु कलापूर्ण जीवन–सम्बलहरू सम्पे्रषण गरिदिन्छन् । हामीे नजरमा नपरेका लक्ष्मीहरूका कलमी शक्तिलाई दैवी चटक मानेर आफ्नो कमजोरी छाया पार्न मात्र सक्छौं, तर तिनका निरन्तरका अभ्यासले ठेला उठेका साना खुट्टाको मर्म चाहिँ पटक्कै बोध गर्न सक्दैनौं । यस्ती चट्टानमा ढकमक्क फुलेकी लक्ष्मीको कलमी फूलका सुगन्धलाई पारख गर्ने भूमिपुत्र भूमीहरूले तिनका वासन्ती छटालाई बेलैमा छोपेर कलमी बान्कीका पुष्पगुच्छाहरू उन्दै सृजनाको सुन्दर माला तयार गरेको पाउँदा खुसी लाग्नु स्वाभाविकै हो ।
एकान्तमा सुवास नाम दिइएको यस काव्यमालाभित्र विशेष गरी लक्ष्मीका काव्यगत चेतनाका सुन्दर कलामय फूलहरू उनिएका पाउँछौं । मान्छेको दिलमा हिर्काउन सक्ने कलमको हतियार बोकेकी लागिन् मालामा उनिएकी लक्ष्मी । असल मान्छे बन्ने सन्देश दिनु उनको वर्तमानप्रतिको अविश्वास, शंका र वितृष्णा नै हो भन्न सकिन्छ । आपूmजस्तै र आपूmभन्दा साना नानीहरूलाई कर्तव्य र अधिकारप्रति सचेतना जगाउँनु कलमजीवीहरूकै कर्तव्य त हो । यस्तै सामाजिक उत्तरदायित्वको सन्देश दिने कविताबाट आफ्नो काव्यिक प्रवाहलाई बगाएकी लक्ष्मीले झन्डै दुई दर्जन कविताहरूका माध्यमबाट हाम्रो जीवन, कर्तव्य, दायित्व, वर्तमानका विसंगति र विकृतिहरूलाई सरल भाषामा कलापूर्ण शैलीमा प्रस्तुत गरेकी छन् । उनका कविताहरूमा बालवय र बालअधिकारको चेतना लहराएको छ । नेपाल र नेपालीको दुदर्शाको चित्रणसँगै शान्तिको अन्वेषण पनि छ । नेपाली धर्तीको प्राकृतिक सौन्दर्यको कोमल चित्रण र प्रेमी दिलको हार्दिक उच्छ्वास पनि छ ।
कोमल कविताफूललहरूमा लक्ष्मीका अझै कोमल गोडाका औंलाहरूले जिजिविषालाई कस्तरी प्रस्तुत गर्न सकेको –
फूलझै फुल्ने मलाई पनि रहर त छ
खोइ कहाँ फुल्ने ठाउँ नै छैन
जूनझैं ज्योति छर्ने मलाई पनि मन त छ
खोई कसरी छरूँ मसँग त्यो उज्यालो नै छेन
(चाहना मेरो )
सिमेन्टका चिहाने महलहरूमा मसिनो चामल डकारेर विनाउद्देश्यको साहित्य र जीवन नदेख्ने कला तयार गर्ने साँडेफर्मान जारी गर्ने तथाकथित टाउकेहरूका लागि लक्ष्मीका जीवन बोल्ने कविताहरूमा कुनै नयाँ प्रयोग र क्याक्टसे विम्वहरू नभेटिनुलाई हामी अतिसामान्य कुरा मान्छौं । हाम्रो गाउँकी लक्ष्मी आधाआकाश थेग्ने कलमी सामथ्र्य बोकेकी शक्तिशाली मिसायल मात्र नभएर यो दुनियाँलाई बदल्ने र नयाँ दुनियाँको निर्माण गर्ने हैसियत राख्छिन् पक्का । साँच्चै त उनी भीरपूmल हुन्, जसको वर्तमान तराइका बाह्रमासे र लेकका लालीगुराँसको जीवनभन्दा नितान्त भिन्न छ । देशप्रेम नबिर्सने तिनका मनमा व्यक्तिप्रेमको अतृप्त अभिलाषा यसरी अभिव्यक्त देखिन्छ –
हाँस्न भन्दा रुन नै बेस होला मलाई
मोतीभन्दा अमूल्य छ हाम्रो आँसु
किनेर पाइन्न यो...उपहार मलाई
आँसु त यौटा उपहार हो
(रुँदै रुँदै)
एउटा यथार्थ के हो भने असुन्दरभित्र सुन्दरता खोज्ने सर्जकको मानसिक अतृप्ति कविताका थँुगाहरूमा मनग्ने देखापरेको छ । शारीरिक असामथ्र्यलाई पचाएर बाँच्न बानी परेको मुटुमा आजसम्म थुप्रिएका पीडादायी अनुभूतिहरूले जीवनवादी कलममाथि कतैकतै हस्तक्षेप गरेर निराशाका सुसेलीहरू पनि सुनिएका छन् –
जीवन नै अन्धकार भएपछि गर्न के सकिन्छ
बाँकी रहेको यौटा आँट पनि हारेर जान्छ
.. ..
शिखर चुम्ने इच्छा थियो
तर मेरो जीवन अन्धकार यो
(अन्धकार रहेछ यो जीवन)


विद्यालयीय शिक्षाको उपलब्धीभन्दा प्राकृतिक प्रेरणा र स्वाध्ययनको अभ्यासबाट खारिँदै गएको लक्ष्मीको साहित्यिक अवतरण साँच्चै कोमल शब्दपूmलहरूको नरम मालिका नै बन्न पुगेको छ ।
कविताजस्तै तर भिन्न विधागत प्रस्तुतिका रूपमा स्थापित गजल–सृजनामा पनि लक्ष्मीको कलम राम्ररी नाचेको छ । उनी गजलहरूमा पे्रम, जीवन र सामाजिक परिवेशका वरपिरि विचरण गरिरहेकी छन्

म मर्दा तिमी बा“च्छौ भने ढल्नलाई तयार छु प्रिये
म जल्दा तिमी खुसी हुन्छौ भने बल्नलाई तयार छु प्रिये
... ... ...
म रु“दा तिम्रो ओठमा सधैं हा“सो आउ“छ भने
रु“दै सारा जिन्दगी छिमल्नलाई तयार छु प्रिये
लक्ष्मीका गजलहरू कलिला शब्द र भावले निक्कै नरम र सुबोध्य छन् । उनमा ओखरपे्रम छैन शैलीहरूमा । आफ्नै जीवन र बाँच्ने कला उनको कलमको पहिलो गुरु हो । अहा, तपाईंले पढेका थुपे्रै किताब नपढेकी लक्ष्मीको जीवन–सिद्धान्त हेर्नुस् त मित्र–
प्रकृतिस“ग पानीको नाता अनन्त अटुट
प्रेमिल फूलका जातको खा“चो छ अझै
आफूलाई बहुमुखी प्रतिभाकी धनी सावित गर्न यिनलाई सृजनशील–निरन्तरता, सहजता र स्थिर–स्वास्थ्यबाहेक केही चाहिन्न । खुट्टाका नरम र स्याना औंलाहरूले यिनको जीवनको चेतना बोलेको पढौं न,–
सार्न सके यो आ“खामा तिम्रो आ“सु सार्ने थिए“
तिम्रो पीडा परेलीका बलेंसीमा झार्ने थिए“
मलाई थाह छ कति व्यथाहरू सहेर बा“चेकी छ्यौ
सक्ने भए सारा व्यथा सहेरै म निखार्ने थिए“
आवरणमोहमा लट्ठ पर्ने सस्तो बजारे पे्रमलाई परिभाषित गर्न प्रकृतिकी यी गुरुमालाई कसले सिकायो, भन्नसक्नुहुन्छ महाशय ?
मेरो विश्वास तिमीलाई मासुभात भयो हैन ?
तिमीस“ग आस्था भर्ने दिल र बुझाइ छैन रहेछ
प्रारम्भिक प्रयासमा पूर्णपरिष्कारको सर्त राख्नु राम्रो हुँदैन पनि । कतैकतै काफियाको धर्म निर्वाहमा चुकेका सेरहरूले उनका कमजोरी स्पष्ट पारेका छन् । मात्रा, लय र शब्दका आयतन तथा विम्व र भावको वस्तुगत सैद्धान्तिक गणित पनि थुप्रेै ठाउँ बिग्रिंएको पाइएला तर लक्ष्मीको गजलप्रतिको अनुराग गतिशील अभ्याससँगै सचेत प्रयासको बाटोमा हिंड्दैछ भन्ने कुरा उनका गजल–लहरूको बाटिकामा डुल्ने तपाइँ–हामी मज्जाले अनुभव गर्न सक्दछौं, यही एकमात्र सत्य हो अहिलेको ।
लक्ष्मीका सृजनाको तेसो अवतार भाकाबद्ध गीतहरूको मूच्र्छना बनेर यस कृतिमा झङ्कृत भएको छ । उनका गीतहरू व्यक्तिमनबाट उठेर नेपाली धर्तीको विचरणसम्म गर्न पुग्छ झन्डै छ दर्जन गीतहरूको मेलामा पस्दा हामीभित्र लक्ष्मीको मन र मुटुको उचाइले स्पर्श गर्छ । उमेर, अपेक्षा, असन्तृप्ति र सपनाहरू फुलेका गीतले सबैभन्दा बढी आत्मिक पे्रमलाई व्यक्तिगत विम्बमा सार्वजनिक गर्न खोजेको देखिन्छ । आन्तरिक सौंन्दर्य उनको प्रणयगीत निम्ति सम्बल बनेको छ । वैयक्तिक अनुभूतिहरू पनि सार्वजनीन बन्न पुग्छन् । अलिकति मनोविभाव, अभीप्साको अतृप्ति र आत्मिक असन्तुष्टिहरू गीतमा बहेका छन्—
पानी पर्छ बादलले आकाश ढाकेपछि
आँसु खस्छ आँखादेखि पीडाले यो मन खाएपछि
... ... ...
मलाई रुवाई अरुलाई हा“सो दिने रहेछौ तिमी
मलाई छोडी अरुलाई साथ दिने रहेछौ तिमी
... ... ...

जन्मेको हो म यो संसार हेर्न
तर जीवन रहेछ पिंजडामा

pustak cover

यसो भएरै पनि लक्ष्मीको जीवनवादी आस्थाले पटक्कै हरेस खाएको छैन । मूलतः उनी भविष्यमाथि, आफ्नो कर्ममाथि उज्यालिएको विश्वास राख्छिन्–

नरुनू है आमा बाबा मेरो यो हाल देखेर
केही गरेर देखाउने छु म भविष्यमा हेर
यस्ता लयदार गीति पूmलहरूमा दुईथान राष्ट्रगान र एउटा लोकदोहोरी पनि फुलेको देखिन्छ । समग्रमा लक्ष्मीका गीतिभावनाहरू पनि कवितामा जस्तै जीवनप्रति होसियार, प्रेममा तम्तयार र कर्तव्य तथा दायित्वप्रति अंशियार बनेका छन् भन्न सक्छौं हामी ।

अन्त्यमा
सजिलोमात्र खोज्ने मीठोमात्र रोज्ने स्वार्थी खुट्टा र जीब्राहरूलाई भीर–कुसुमपट्टि त्यत्ति मोह नजाग्ला तर हामी कर्मवादी जीवनवादी नेपालीहरू धर्तीका छातीमा फुलेका लक्ष्मीपूmलहरूको महकलाई मूल्यवान् ठान्छौं । असहज जीवनशैली, अस्वाभाविक लेखनशैली, असम्भव पदयात्राकै कारण यिनको कलमी हतियार बेजोड बनेको निष्कर्ष हतारमा निकाल्नुभन्दा अभ्यास, अवसर र अविश्रान्त साधनाले असाध्य यात्राहरूपनि सम्भव बन्छन् भन्ने विश्वासको दृढता व्यक्त गर्नु हामी जायज ठान्छौं । सृजनाको सगरमाथा ताकेर क्रियाशील प्यारी बहिनी लक्ष्मीका कलमी सपनाहरू सँधैसँधै पूर्ण बनून् । हामीले पनि लक्ष्मीले जस्तै सामाजिक जीवनको उत्तरदायित्व र कर्तव्यप्रतिको इमान्दारितालाई यिनीबाट प्रेरणाको रूपमा लिनुपर्छ ।