इटहरी : प्रहरी चौकी तरहरामा सरेको इलाका प्रहरी कार्यालय इटहरीको अस्थायी कार्यालय इटहरी रगंशालामा हप्ता दिन भित्र तयार हुने भएको छ । रगंशालाको जीवनयोग प्रयोगशाला र ज्येष्ठ नागरिकको दुई तले भवनलाई इटहरी उपमहानगरले अस्थायी रूपमा इटहरी प्रहरीलाई कार्यालय प्रयोजनको लागि प्रदेश खेलकुद बिकास वोर्डसँग सहजीकरण गरेपछि अहिले इलाका प्रहरीको कार्यालय धमाधम बनाउने कार्य भइरहेको छ । रगंशालाको तीनवटा संरचनालाई हाल प्रहरी कार्यालय सञ्चालनको लागि उपलब्ध गराइएको छ । जीवनयोगको माथिल्लो भवनमा डिएसपीको कार्यकक्ष, अपराध अनुसन्धान तथा मुद्दा शाखा, लेखा शाखा र सञ्चार शाखा रहने छ । यस्तै ज्येष्ठ नागरिकको तल्लो भवनमा थुनुवा कक्ष रहने छ । सय जनाको सङ्ख्यामा हट्ने थुनुवा कक्षा र थुनुवा सेन्ट्रि पोस्ट निर्माणको काम धमाधम भइरहेको छ ।

जीवनयोग प्रयोगशालाको भवनदेखि दक्षिणको भागमा खाली रहेको भवनमा कार्य शाखा र प्रहरी बस्नको लागि ब्यारेक रहने छ । यस्तै प्रहरी मेसको लागि पहिले कोभिड अस्पतालको रूपमा प्रयोग भएको भवन प्रयोग गरिने जनाइएको छ । जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कार्यालय तत्काल पुनर्निर्माण गरेर सञ्चालन गर्न नसकिने अवस्थाका बिच इटहरी उपमहानगरको कार्यपालिका बैठकले रगंशालामा अस्थायी रूपमा ठाउँ उपलब्ध गराएपछि प्रहरी कार्यालय बनाउने काम धमाधम भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमाल बताउँछन् । ‘अब हप्ता दिन भित्र प्रहरी कार्यालयलाई आवश्यक पर्ने सम्पूर्ण संरचना बनेपछि हामी पहिलैको अवस्थाबाट काम सुरु गछौ’ डिएसपी हमालले प्रदेश पोर्टलसँग भने ।
यता उपमहानगरले बनाएको प्रहरी प्रशासन पुनर्स्थापना सहयोग समितिका संयोजक एवम् इटहरी वडा नं. ९ का अध्यक्ष जितेन थापाले करिब १० लाख रुपैयाँको अनुमानित खर्चमा इलाका प्रहरीको भवन बनाउने काम भइरहेको बताए । त्यसमा प्रहरीको ब्यारेकको लागि बस्ने प्रबन्ध समेत उपमहानगरले नै गर्ने उनले बताए । प्रहरीको अस्थायी रूपमा कार्यालय सञ्चालनको लागि कोशी प्रदेश खेलकुद बिकास वोर्डसँग रगंशालाको भवन माग गरेर हाललाई प्रहरी कार्यालय बनाउने उपमहानगरको निर्णय अनुसार काम भइरहेको अध्यष एवम् संयोजक थापाले जानकारी दिए ।

त्यस्तै हाल रगंशालामा अस्थायी रूपमा व्यवस्थापन पश्चात् दीर्घकालीन रुपमा इलाका प्रहरी कार्यालयको आफ्नै जमिन र भवनको लागि नागरिक समाज तथा जनप्रतिनिधिको टोली काठमाडौँ जाने अन्तिम तयारीमा छ । जुट अनुसन्धान केन्द्रको २३ कट्ठा १२ धुर जमिन प्राप्तिको लागि वडा हुँदै नगर अनि प्रदेश सरकारबाट सङ्घीय सरकारको कृषि मन्त्रालयमा फायल पुगेको अवस्था छ । अब तिहार अगाडी नै उपमहानगरसँग समन्वय गरेर एक टोली काठमाडौँ जाने तयारी भएको सामाजिक अगुवा एवम् राष्ट्रिय जागृति क्लब इटहरीका अध्यक्ष सन्त डुम्जनले जानकारी दिए । हाल ध्वस्त भएको इलाका प्रहरी कार्यालयको भवनमा वडा प्रहरी कार्यालय रहने गरी प्रस्ताव अघि सारिएको छ ।