सुनसरीः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सञ्चालन गरेको फार्मेसीमा ५० लाख रुपैयाँभन्दा बढीको औषधि घोटाला गरी आर्थिक अनियमितता गरिएको पाइएको छ। प्रतिष्ठानले खरिद गरेको ५ करोड ५० हजार रुपैयाँबराबरको औषधिमध्ये करिब ५० लाखबराबरको औषधि हिनामिना भएको प्रमाण फेला परेपछि प्रतिष्ठानभित्र ठूलो आर्थिक अनियमितता भएको घटना बाहिरिएको छ। 

प्रतिष्ठानको फार्मेसी सञ्चालन समितिका संयोजक तथा प्रतिष्ठानका निर्देशक डा। जगतनारायण प्रसाद, तत्कालीन डेपुटी निर्देशक डा। लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन र फार्मेसीका कर्मचारी विवेक दाहालको मिलेमतोमा घोटाला भएको प्रारम्भिक निष्कर्षमा प्रतिष्ठान पुगेको छ। सो घोटालामा प्रतिष्ठानले फार्मेसीका सञ्चालनका लागि कर्मचारी आपूर्ति गर्ने ठेक्का पाएको केटीएम सेक्युरिटी प्रालिको समेत संलग्नता देखिएको छ।

प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद संग्रौलाले फार्मेसीमा करिब ५० लाख रुपैयाँबराबरको औषधि घोटाला भएको पुष्टि गर्दै दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने बताए। उनले भने, ‘सम्बन्धित कर्मचारीलाई निलम्बन गरेर छानबिन अघि बढाउने तयारी भएको छ।’ 

रजिस्ट्रार संग्रौलाका अनुसार स्वतन्त्र व्यक्ति संयोजक रहने गरी विशेष छानबिन समिति गठनको तयारी भइरहेको छ। प्रतिष्ठान स्रोतका अनुसार प्रारम्भिक चरणमै आर्थिक अनियमितता पुष्टि भएपछि आन्तरिक लेखा परीक्षण र बाह्य अडिट दुवै प्रक्रियासमेत अघि बढाइएको बुझिएको छ।

प्रतिष्ठानको अस्पताल डेपुटी निर्देशक डा। इन्द्र लिम्बूले फार्मेसीमा ३६ लाख रुपैयाँबराबरको औषधि नै फेला नपरेको बताए। त्यसबाहेक बिक्री भएको ४ लाख रुपैयाँको हिसाब गडबडी देखिएको र १४ लाखभन्दा बढी मूल्यको औषधि म्याद सकिएको अवस्थामा भेटिएको उनले जानकारी दिए। डा।लिम्बूले भने, ‘फार्मेसीमा गरिएको हिसाब–किताब जाँच्दा ठूलो मात्रामा औषधि हराएको, बिक्री रकम बेठीक भएको र म्याद सकिएका औषधि पनि भण्डारणमा रहेको पाइयो।’ 

घोटालाको तथ्य बाहिरिएपछि प्रतिष्ठानले तत्काल फार्मेसीको औषधि बिक्री बन्द गरेको छ। यससँगै प्रतिष्ठानमा उपचारका लागि आउने हजारौं बिरामीहरू समस्यामा परेका छन्। फार्मेसी बन्द भएपछि बिरामीले आवश्यक औषधि बाहिरी मेडिकलबाट महँगो दरमा किन्न बाध्य भएका छन्। धरान–१५ का ज्ञानेन्द्र बस्नेतले भने, ‘पहिले बीपीको फार्मेसीमा बाहिरभन्दा १०–१५ प्रतिशत सस्तोमा औषधि पाइन्थ्यो, अहिले भने महँगोमा किन्नु परेको छ।’ धरान–१३ का रवि राईले औषधिमा घोटाला गर्नेहरूलाई तत्काल कारबाही गर्न र फार्मेसी पुनः सञ्चालन गर्न माग गरे।

उनले भने, ‘घोटालामा जोसुकै संलग्न छन्, सबैलाई सजाय दिनुपर्छ। बिरामीलाई सस्तोमा औषधि चाहिएको हो, घोटाला होइन।’ फार्मेसी बन्द भएपछि स्वास्थ्य बिमा गरेका नागरिकले पाउने निःशुल्क औषधि सेवासमेत ठप्प भएको छ। प्रतिष्ठानले स्वास्थ्य बिमाअन्तर्गतका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै आएको थियो। तर, फार्मेसी बन्द भएपछि उनीहरू औषधिका लागि बाहिर मेडिकलमा रकम तिरेर खरिद गर्न बाध्य भएका छन्। स्वास्थ्य बिमाका बिरामी सीता विष्टले प्रतिष्ठानको फार्मेसी बन्द गरेर बिरामीलाई बाहिरी मेडिकलमा औषधि किन्न बाध्य पारिएको र बिरामीको अधिकार खोसिएको गुनासो गरेकी छन्।

फार्मेसी घोटालामा निर्देशक जगतनारायण प्रसादको संलग्नता देखिएपछि प्रतिष्ठानले फार्मेसी सञ्चालनको जिम्मेवारी अस्पताल डेपुटी निर्देशक डा। इन्द्र लिम्बूलाई दिने तयारी गरेको छ। लिम्बूले पहिले छानबिन टुंगोमा पुर्‍याएपछि मात्रै  जिम्मेवारी लिने बताए। बीपी प्रतिष्ठान शुद्धीकरण अभियानका सहसंयोजक डा। विष्णु पोखरेलले फार्मेसीमा देखिएको अनियमितताको तत्काल छानबिन गरी दोषीलाई कारबाही र फार्मेसी पुनः सञ्चालनको माग गरेका छन्। उनले भने, ‘यो घटनाले बीपी प्रतिष्ठानको विश्वसनीयता माथि प्रश्न उठाएको छ। अब ढिलाइ नगरी पारदर्शी ढंगले छानबिन गर्नुपर्छ।’

घोटालाको आरोप लागेका अस्पताल निर्देशक डा। जगतनारायण प्रसादले औषधि हिनामिनाको विषयमा आफूले नै अनुसन्धान गरिरहेको दाबी गरेका छन्। उनले भने, ‘म संलग्न छैन। फार्मेसीमा अनियमितता भएको हो। त्यसको अनुसन्धान म आफैंले सुरु गरेको हुँ। थप जानकारीका लागि प्रवक्ता अञ्जु प्रधानसँग कुरा गर्न सकिन्छ।’ 

फार्मेसी इन्चार्ज लक्ष्मण महर्जनलाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन्। विवेक दाहाल र डा। लोकेश जैसवालले  समेत यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। फार्मेसी बन्द भई बिरामी उपचारका क्रममा समस्यामा परेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले पारदर्शिता, जवाफदेहिता र सुधारको माग बढ्दै गएको छ। बीपी प्रतिष्ठानका उपकुलपति प्रा। डा। विक्रमप्रसाद श्रेष्ठले फार्मेसी बन्द हुँदा बिरामीलाई परेको समस्या समाधानका लागि अस्थायी व्यवस्था गर्दै छिट्टै फार्मेसी पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित भएको छ ।