इटहरी । वर्ल्ड बैङ्क प्रोजेक्टको अनुदान मार्फत इटहरी उपमहानगरले ठेक्का लगाएको जुट विकासदेखि बरगाछी जोड्ने सडक निर्माणमा कमसल काम भएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् । आशिष् आर्सीवाद जेभि कम्पनीले ठेक्का पाएको इटहरीस्थित जुट विकासदेखि बरगाछी जोड्ने ८.४ किलोमिटर पिच सडक निर्माणको क्रममा इटहरी २ शान्ति नगर त्रिभुवन चौकमा बनाएको ड्रेनको स्ल्याब अत्यन्त कमसल बनाएको भन्दै स्थानीयहरू आक्रोशित बनेका हुन । निर्माण कम्पनीले ड्रेन, कल्भर्ट र पिचसहितको ठेक्का पाएको छ । तर ड्रेनको स्ल्याब मापदण्ड विपरीतको भएको भन्दै त्रिभुवन चौकका स्थानीयहरूले स्ल्याब र ड्रेनको भुक्तानी नदिन उपमहानगरपालिकालाई आग्रह गरेको छ । 

स्थानीयका अनुसार ड्रेनमाथि लगाइने स्ल्याब बनाउँदा कम सिमेन्ट प्रयोग गर्दा फुट्न थालेको छ । त्रिभुवन चौकदेखि पश्चिम जाने सडक किनाराको ४ वटा स्ल्याब अत्यन्त कमजोर र लापरबाहीले बनाएको स्थानीय दीपक दाहालले बताए । ‘चैत्र महिनामा निर्माण गरेको स्ल्याब हिल्टीले हान्दा नफुट्ने हुन्छ, तर यहाँ प्रयोग भएका स्ल्याब हातैले कोट्याउँदा फुट्छ’ दाहालले प्रदेश पोर्टललँग भने ‘यो निर्माण कम्पनीको गरेको खुलेआम भ्रष्टाचार हो ।’ 

Sequence 30.00_00_40_00.Still007अर्का स्थानीय ईश्वरी बस्तीले आफ्नै घर अगाडी बन्दै गरेको ड्रेन र स्ल्याब बनाउने क्रममै गुणस्तरको काम नभएको भनेर ठेकेदारलाई जानकारी गराएको बताउँछन् । ‘मैले बनाउने क्रममै ठेकेदारलाई स्ल्याब र ड्रेनमा प्रयोग भएको जाली, रड, गिटी बालुवा र सिमेन्ट सम्झौता अनुसार प्रयोग नभएको भनेर ध्यानाकर्षण गराएको हुँ, बस्ती भन्छन् ‘ठेकेदारले सच्चाएर काम गछौ भनेका थिए । पछि राती १२ बजे ड्रेन र स्ल्याब बनाएका रहेछन् ।’ यो सरासर वैमानी हो । बस्तीका अनुसार ड्रेन र स्ल्याब बनाउने क्रममा उपमहानगरका इन्जिनियर र मेयरलाई जानकारी गराएको समेत बताए । ठेकेदार कम्पनीको इन्जिनियरहरू फिल्ड अनुगमनमा आउनु पनि भयो तर स्ल्याब परिवर्तन गर्नेमा कसैले वास्ता नगरेको उनको भनाई छ । साथै ठेकेदारले बनाएको कल्भर्ट समेत बाङगीएको अवस्था पुगेको बताइएको छ । 

यता इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले ठेकेदार कम्पनीसहितको टोलीले समस्या देखिएको ठाउँ निरीक्षण गर्दा ४ वटा स्ल्याबमा केही समस्या देखिएको बताउँदै ठेकेदार पक्षले सो स्ल्याब हटाएर नयाँ स्ल्याब हाल्ने तयारी गरेको बताए ।  स्थानीयहरूले गुनासो गरेपछि हामीले समस्या देखिएको भागको भुक्तानी नगरेको घिमिरेले दाबी गरे ।  सडक निर्माणको ठेक्का पाएको आशिष् आर्सीवाद जेभि कम्पनीका कनट्र्याक्ट म्यानेजर चन्द्र नारायण यादवले समस्या देखिएको सडकको भाग पेटी ठेक्का लगाएको कारण पुरानो स्ल्याब हालेको हुन सक्ने बताए ।  ‘हामीले समस्या देखिएको ४ वटा स्ल्याब हटाएर नयाँ हाल्ने भनेका छौ’ यादवले भने ‘केही दिनमै नयाँ स्ल्याब लगाइन्छ ।’ 

यही निर्माण कम्पनी मार्फत इटहरी भेटघाट चौकदेखि ताल तलैयासम्मको बिच सडक बनाउने क्रममा समेत पिचको मोटाइ समान नभएको, पिच गर्न प्रयोग हुने निर्माण सामाग्री कमसल प्रयोग गरेको, रोलरले राम्रोसँग पिच नपेल्दा खाल्डो बसेको र बर्खाको समयमा पिच गरेको भन्दै स्थानीयहरूले विरोध गरेका थिए ।

Sequence 30.00_00_05_12.Still009जुट विकासदेखि बरगाछी जोड्ने ८.४ किलोमिटर पिच सडक निर्माणको लागि वर्ल्ड बैङ्क प्रोजेक्ट मार्फत इटहरी उपमहानगरले आशिष् आर्सीवाद जेभि कम्पनीलाई ७३ करोडमा ठेक्का दिएको हो । तर सडक निर्माण गर्दा गुणस्तरीय काम नभएको भन्दै इटहरीका २, ३ र ४ का वडावासी प्रत्यक्ष आफै अनुगमन र निगरानी गरिरहेका छन् ।