विराटनगरः प्रदेश १ भित्रका प्रमुख जिल्ला–नगर उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घको निर्णय कार्यान्वयनमा असहयोग गर्ने चेतावनी दिएका छन् ।

विराटनगरमा उदयपुर, झापा दमक, उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घका पदाधिकारीको बुधबार भएको भेला तथा अन्तरक्रियापछि यस्तो निर्णय गर्दै संयुक्त विज्ञप्ति जारी गरिएको हो ।

भेलाले नेपाल उद्योग वाणिज्य महासङ्घले जिल्ला तथा नगर उद्योग सङ्घको भावना विपरीत काम गरेको, भेदभाव गरेको र महत्वपूर्ण तथा दीर्घकालीन प्रभाव राख्ने सरकारी निर्णय हुँदा समेत मौन बसेको निष्कर्ष निकालेको भेलापछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भेलापछि गरिएको निर्णयमा भनिएको छ, महासङ्घको भूमिका तल्लो स्तरका जिल्ला नगर उद्योग वाणिज्य सङ्घ एवं उद्योगी व्यवसायीका समस्यामा चासो नदिएको, भेदभावपूर्ण व्यवहार गरेको, राष्ट्रियस्तरमा असर पर्ने कुरामा राय सुझाव नलिई निर्णय गरिएकाले आगामी दिनमा यस्तै भए महासङ्घको सदस्य सङ्घ भएर निर्णय कार्यान्वयन गर्नुपर्ने भूमिकामा रहिनरहने उल्लेख गरिएको छ ।

बैठकले उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेलाई महासङ्घले लिखित स्पष्टीकरण माग्नु गलत मनसाय भएको बताउँदै मातृशोकमा परेर किरियामा बसेका सङ्घका अध्यक्षलाई समवेदना व्यक्त गर्नुपर्ने कुरा बुझ्न आग्रह समेत गरेको छ । घिमिरेले महासङ्घको जानकारी बिना सरकारसँग सुनसरी–मोरङ औद्योगिक करिडोरका समस्या हल गर्ने बारेमा मागपत्र पेश गरेका थिए । ११ गते आफ्नी आमाको निधनपछि शोकमा रहेका बेला घिमिरेलाई महासङ्घले सरकारसँग औपचारिक वार्ता नगरी महासङ्घलाई किन जानकारी नदिएको भन्दै स्पष्टीकरण सोधेको थियो ।

निर्णयका अधिकांश बुँदा महासङ्घको नेतृत्व विरुद्ध उल्लेख गरिएको छ । ४ उद्योग वाणिज्य सङ्घले सरकारले उद्योगी–व्यवसायीको समस्या बुझ्नका लागि गठित कार्यदलको बैठक विराटनगरमा आयोजना गर्नका लागि आग्रह गर्ने निर्णय गरेको छ ।

यसैगरी, उद्योगी–व्यवसायीका समस्या हल गर्नका लागि महासङ्घ जिम्मेवारीपूर्वक नलागेको निष्कर्ष निकाल्दै आगामी दिन यस्तै रहे छाता सङ्घको रूपमा जिल्ला उद्योग वाणिज्य सङ्घ नरहने चेतावनी समेत दिए ।

जारी विज्ञप्तिमा उद्योग वाणिज्य सङ्घ उदयपुरका पुष्कर खड्का, झापा दमकका राजेन्द्र् ढकाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले हस्ताक्षर गरेका छन् ।