बेलबारीः शहरमा मात्रै होइन, शहरोन्मुख क्षेत्रमा पनि दिनप्रतिदिन होटल खुल्ने क्रम बढिरहेको छ । एसी, वाइफाईसहितका होटलहरू खुलिरहेका छन् । तर होटलहरूमा दक्ष जनशक्तिको भने अभाव कायमै छ ।

विभिन्न विद्यालय तथा कलेजहरूले होटल म्यानेजमेन्ट पढाइरहे पनि दक्ष जनशक्तिको भने अभाव कायमै छ । पछिल्लो सयम केही नगरपालिकाले चासो देखाउन थालेका छन् । दक्ष जनशक्ति उत्पादन गरी स्थानीयलाई रोजगारी दिन बेलबारी नगरपालिकाले वेटर र वेस्ट्रेजसम्बन्धी तालिम दिन थालेको छ ।

आरटीआरके इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एन्ड टुरिजम इटहरीले बेलबारी नगरपालिकाको सहयोगमा ३० जनाभन्दा बढी विद्यार्थीलाई तालिम दिइरहेको छ । पर्यटकीय क्षेत्रको विकास भएका स्थानमा दिनप्रतिदिन होटलको सेवा बिस्तार भइरहे पनि ग्राहकलाई आकर्षित पार्न भने दक्ष जनशक्तिको अभाव देखएपछि तालिमको आयोजना गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

बेलबारीसँगै इनरुवा नगरपालिका र बुढीगङ्गा गाउँपालिकाले समेत यस विषयमा चासो देखाएको आरटीआरकेले जनाएको छ । १ महिनासम्म तालिम दिने तथा प्रयोगात्मक परीक्षाको लागि होटलहरूमै पठाइने आरटीआरकेका प्रबन्ध निर्देशक प्रेम तुम्बापोले बताए । उनका अनुसार प्रदेश एकमा मात्रै ४ दर्जभन्दा बढी ठूला होटल छन् ।