इटहरीः इटहरी नजिकैको पर्यटकीय स्थल गोकुलमले जहाज भित्र्याएको छ । एक निजी कम्पनीको ग्राउण्डेड (उडान बन्द गरेको) जहाज रिसोर्टमा भित्र्याएको रिसोर्ट सञ्चालक गिरिश दङ्गालले जानकारी दिए ।

बिहीबार काठमाडौंबाट ल्याइएको सो जहाज रिसोर्ट परिसरमा राखिएको छ । रिसोर्टको एक महत्वपूर्ण भागको रूपमा विकास गर्ने लक्ष्यबमोजिम सो जहाज ल्याइएको बताइएको छ । गोकुलममा थुप्रै आकर्षण रहेका छन्, ‘सञ्चालक दङ्गालले भने, गोकुलमको विविधतालाई अझै फराकिलो बनाउन जहाज ल्याइएको हो ।’

यसअघि धनगढीमा पाइलट वेद उप्रेतीले जहाजलाई म्युजिमको रूपमा विकास गरेका थिए । बिग्रिएको सो जहाजलाई आकर्षक ढङ्गले सजाएर म्युजियमको रूपमा विकास गरेपछि नेपालभरबाट पर्यटक पुुग्ने गरेका थिए । पछिल्लो समय काठमाडौको सिनामङ्गलमा पनि जहाजको म्युजिम राखिएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित बलियामा रहेको गोकुलम रिसोर्टमा ल्याइएको यो जहाजमा बन्ने म्युजिय नै पूर्व क्षेत्रको पहिलो जहाज म्युजियम हुने भएको छ ।

सञ्चालकका अनुसार दशैंअगाडि जहाजभित्रको म्युजियम सञ्चालनमा आउने छ ।