धरानः नेशनल रेडियोलोजिकल सोसाइटीको २८ औं वाषर््िाककोत्सव तथा अधिवेशनमा सहभागी हुन देशभरबाट रेडियोलोजी प्राविधिकहरू धरानमा भेला भएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको निर्वाणा कन्ट्री क्लबमा मङ्गलबार शुरु भएको कार्यक्रममा सहभागी हुन उनीहरू धरान आएका हुन् । उनीहरूले रेडिएसनबाट प्राविधिक (आफू), बिरामी र अन्य सर्वसाधारणहरू उच्च जोखिममा भएको एजेण्डा प्रमुखताका साथ उठाएका छन् । कार्यक्रमको उद्घाटन बीपी प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले गरेका थिए ।

सोसाइटीका महासचिव दीपेन्द्र झाले सरकारले पुराना उपकरण तथा मेसिनहरूको स्थानमा अत्याधुनिक मेसिनहरू नल्याउँदा प्राविधिकहरू सधैँ जोखिममा बस्नुपरेको बताए । बिरामी र सर्वसाधारणहरू पनि सधैं जोखिममा भएको उनको भनाइ थियो । प्राविधिकहरूलाई अत्यावश्यक सुरक्षा कवच नभएका कारण उनीहरू उच्च जोखिममा रहेको उनले बताए ।

‘रेडिएसन ज्यादै घातक हुन्छ । त्यसले क्यान्सर हुने उच्च जोखिम हुन्छ,’ झाले भने, ‘सधैँ सुरक्षाको व्यवस्थाबिना पुरानो मेसिनमा काम गर्नुपरिरहँदा रेडिएसनबाट खतरा छ ।’

जति पुरानो मेसिन, त्यति क्यान्सरको खतरा
क्यान्सर तत्काल नदेखिने भए पनि रेडिएसनको असरले प्राविधिकहरूलाई अवकाशपछि पनि क्यान्सर लाग्ने उच्च जोखिम भएको सोसाइटीको भनाइ छ । अध्यक्ष मुकेशकुमार झाका अनुसार जति पुरानो मेसिन भयो, उति ढिलो काम गर्ने र पावर धेरै दिनुपर्ने हँुदा रेडिएसनको जोखिम पनि धेरै हुन्छ । ‘तीन पक्षलाई नै जोखिम छ, विदेशमा संवेदनशील मानिन्छ र आवश्यक सुरक्षा अपनाइएको हुन्छ,’ उनले भने, ‘हामीकहाँ चाहिँ सुरक्षा अपनाइँदैन ।’ मेसिन नयाँ र क्षमता बढी भएको हुनुपर्ने र कोठा पनि आवश्यक मापदण्डको बनाइनुपर्ने उनको भनाइ छ ।

radio logy (1)

नेपालमा १ सय एमएभन्दा कम क्षमताको मेसिन प्रयोग गर्न नपाइने भए पनि पुराना मेसिनहरू ज्यादै न्यून क्षमताका हुन्छन् । जसले धेरै रेडिएसन फाल्छ, र क्यान्सरको जोखिम बढी हुन्छ ।

सोसाइटीका अनुसार नेपालमा करिब २ हजार ३ सयको हाराहारीमा प्राविधिकहरू छन् । तीमध्ये सरकारी अस्पतालहरूमा थोरै सङ्ख्यामा मात्र खपत छन् । रेडिएसनको खतरा सबै प्राविधिकहरूलाई भए पनि जोखिम भत्ता भने सरकारी अस्पतालहरूमा मात्र भएकाले सबैमा व्यवस्था गर्न पनि सोसाइटीको माग छ । प्राविधिकहरूको सुरक्षाको एजेण्डा प्रमुख रूपमा उठाइएको सोसाइटीको भेलामा विभिन्न वैज्ञानिक प्रस्तुति हुनुका साथै नयाँ नेतृत्व पनि चयन हुने बताइएको छ ।