धरान/ जेठ १५ गते सरकारले बजेट ल्याएलगत्तै मदिराजन्य उद्योगहरूले आफ्नो उत्पादनको धमाधम नयाँ मूल्यसूची तोकेर सार्वजनिक सूचना जारी गरिरहेका छन् । सरकारले बजेटमार्फत् मदिराको अन्तःशुल्कमा चर्को राजस्व वृद्धि गरेपछि मदिराको बजार मूल्य पनि वृद्धि हुनु स्वभाविक हो ।

तर, अर्थमन्त्रीले बजेट प्रस्तुत गरेकै भोलिपल्टदेखि मदिरा उत्पादक उद्योगले नयाँ मूल्यसूची सार्वजनिक गर्नुमा डिलर तथा होलसेलरहरूलाई अत्यधिक मुनाफा कमाउन दिने मिलेमतो हुने गरेको पाइएको छ । सरकारले बजेटमार्फत् मदिराजन्य वस्तुको उत्पादनमा अन्तःशुल्क बढाउने निश्चित भएपछि उद्योगहरूले पहिल्यै आफ्ना डिलर र होलसेलरहरूलाई सामान स्टक गर्न सूचना गरिसकेका हुन्छन् । त्यही सूचनाको आधारमा डिलर र होलसेलरहरूले ठूलो परिमाणमा सामान खरिद गरेर गोदममा थन्क्याउँछन् । त्यही समान बजेट भाषणलगत्तै उद्योगहरूले भाउ बढाएर नयाँ मूल्यसूची कायम गर्छन् । डिलर र होल सेलरहरूले पुरानो मूल्यको सामान खुद्रा व्यापारी र उपभोक्ताहरूलाई नयाँ मूल्यमा बिक्री गर्छन् । ‘बजेट भाषण हुनुअघि होलसेलरहरूले धेरै सामान स्टक गर्छन्, बजेटमा अन्तःशुल्क बढ्ने निश्चित हुन्छ, उद्योगले नयाँ मूल्य तोक्छ । होलसेलर, डिलरहरूले कम दाममा किनेकोे पुरानो स्टक सामान नयाँ रेटमा बेच्दा मालामाल हुन्छन्,’ एक खुद्रा व्यापारी भन्छन् ।

यो कमाउ धन्दामा उद्योग, अधिकृत बिक्रेता र डिलरहरू सबैको मिलेमतो हुन्छ । उद्योगले पहिल्यै आफ्ना अधिकृत बिक्रेतामार्फत् बजेटअघि नै सामान स्टक गर्न सूचना प्रवाह गरिसकेको हुन्छ । यो सूचना खुद्रा व्यापारीहरूसम्म पुगे पनि उनीहरूले ठूलो परिमाणमा सामान स्टक राख्न सक्दैनन् । त्यसैले थाहा हुँदाहुँदै पनि थोक बिक्रेता (डिलर, होलसेलर) हरूबाट ठगिनुपर्छ । ‘बजेट भाषणअघि पुरानो मूल्यमा फालाफाल हुने सामान भोलिपल्टदेखि पाइनै छोड्छ । अहिले बजारमा कि त सामान सर्टेज छ, कि नयाँ मूल्यमा मात्र पाइन्छ,’ मदिरा व्यापारी भन्छन् । उद्योगले नयाँ मूल्य कायम गरेको सामान मात्र नयाँ मूल्यमा पाइन्छ भने अन्य सामानहरू सर्टेजझैँ छ । होल सेलरहरू उद्योगले नयाँ मूल्यसूची सार्वजनिक गर्ने पर्खाइमा बस्छन् । मूल्यसूची सार्वजनिक भएपछि मात्र अत्यधिक मुनाफा लिएर नयाँ रेटमा बेच्छन् ।

यसपटक अर्थमन्त्रीले बजेटमार्फत् मदिराजन्य पदार्थमा अत्यधिक अन्तःशुल्क वृद्धि गरेका छन् । जसले गर्दा मदिराका खुद्रा व्यापारी र मदिरा उपभोक्तालाई आर्थिक भार परेको व्यापारीहरू बताउँछन् । खुद्रा व्यापारी मनिता गुरुङ भन्छिन्, ‘भाउ यति बढेको छ कि ग्राहकलाई सुनाउँदा अचम्ममा पर्छन् । हामीले किन्दा नै धेरै मूल्य परेको छ ।’ मदिराका डिलर तथा होलसेल व्यवसायीहरू प्रत्येक वर्ष बजेट भाषणपछि मूल्य बढ्ने प्रचलन भए पनि यसपाली अचाक्ली अन्तःशुल्क बढेकाले बजारमा असर परेको बताउँछन् ।

पुरानो सामान स्टक राख्ने र उद्योगले दिएको नयाँ मूल्यसूचीअनुसार बेच्ने चलन विगतदेखिकै भएको मदिरा व्यवसायी संघ धरानका अध्यक्ष नवीन तामाङ बताउँछन् । नयाँ रेटमा बिलिङ गरेर बिक्री नगरे राजस्व छलीको कारबाहीमा परिने भएकाले पनि पुरानो स्टकको सामान नयाँ मूल्यमा बेच्नु बाध्यता भएको उनी बताउँछन् । ‘यो त पहिलादेखि नै भइरहेको हो, स्टक होलसेलरहरूले गरेको हुन्छ, र उद्योगले नयाँ भाउ दिएअनुसार बिलिङ गरेरै बेच्नुपर्छ,’ उनले भने । सरकारले मदिरालाई नियन्त्रण गर्ने गरी अन्तःशुल्क बढाए पनि त्यसले अवैध रूपमा उत्पादन हुने घरेलु हानिकारक रक्सीलाई बढावा दिने भन्दै उनी सरकारको नीतिप्रति असन्तुष्टि जनाउँछन् ।

आन्तरिक राजस्व कार्यालय धरानका एक कर अधिकृतले पुरानो मूल्यमा खरिद गरेको सामान नयाँ मूल्यमा बिलिङ गरेर बिक्री नगरे नयाँ मूल्यको समान पनि पुरानो देखाएर राजस्व छली गर्न सक्ने भएकाले यो चलन बसेको बताउँछन् । ‘व्यापारीलाई नाफा त हुन्छ नै, तर त्यसो नगरे राजस्व पनि छली हुन सक्छ । नयाँ सामान पनि पुरानो स्टक देखाएर कम रेटमा बिलिङ हुने र राजस्व गुम्ने भएकाले बजेटपछि बढेको मूल्यमा नै बिलिङ गर्ने परिपाटी बसेको हो,’ नाम नखुलाउन आग्रह गर्दै उनले भने ।